३१ जेष्ठ २०८३, आइतबार

हराएका १९८ वटा मूर्ति नेपाल फिर्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ साउन । नेपालबाट विभिन्न देशमा चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन् । नेपालबाट कुल ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन् ।

पुरातत्व विभागका शाखा अधिकृत सरिता सुवेदीले विसं. २०४२ देखि गत २०८१ सालसम्म नौ देशबाट १९८ मूर्ति मात्रै फिर्ता गर्न सफल भएको जानकारी दिए । फिर्ता भएका प्रायः मूर्ति ऐतिहासिक र प्राचीन खालका एक सय वर्षभन्दा पुराना सम्पदा भएको उनले बताए ।

“हामीलाई प्रमाणसहित हराएका मूर्तिको उजुरी ४०९ वटा प्राप्त भएका छन् । यो विभागलाई जानकारी गराएको मात्रै तथ्याङ्क हो,” उनले भने, “जिल्ला प्रहरी कार्यालयमा मूर्ति हराएको उजुरी, कतै उजुरी नगरेर बसेकाको सङ्ख्या पनि धेरै हुन सक्छ । मूर्ति हराएको यकिन तथ्याङ्क ल्याउन सकिएको छैन ।” नेपालबाट राजनीतिक अस्थिरताका बेलामा थुप्रै मूर्ति विदेश लगेर बेचिएको हुन सक्ने आशङ्का उनले गरे ।

“नेपालबाट पञ्चायतकाल र त्योभन्दा पहिले धेरै मूर्ति नेपालका तस्करले विदेशी पर्यटकमार्फत बेचबिखन गरे कि भन्ने छ । नेपाली बन्द समाज जब खुला हुँदै गयो, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विकास हुन थालेपछि बेचिएका मूर्ति फिर्ता हुन थालेका हुन्,” उनले भने ।

नेपाली युरोप, अमेरिकालगायत विभिन्न देशमा अध्ययन, भ्रमण र कामको सिलसिलामा जान थालेपछि ती देशका सङ्ग्रहालयमा राखिएका मूर्ति अवलोकन गर्ने क्रममा पत्ता लाग्ने गरेको उनको भनाइ । पुरातत्वविद् प्रकाश दर्नालका अनुसार देशको गरिबी र अशिक्षाका कारण लोभमा पारेर तस्करले ऐतिहासिक र प्राचीन मूर्ति बिक्री गर्ने गरिएको छ ।

बिस मूर्ति फिर्ता भएनन्
पुरातत्व विभागले २० वटा मूर्ति तीन देशमा भएको कागजसहित पुष्टि गरे पनि ल्याउन नसकिएको अधिकृत सुवेदीले जानकारी दिए । फ्रान्समा १८ वटा मूर्ति, स्विट्जरल्यान्ड र सिङ्गापुरमा एक÷एक वटा मूर्ति रहेका छन् । “फेला परेका मूर्ति नेपालबाटै गएका हुन् भन्ने प्रमाणबाट पुष्टि भइसकेको छ । स्वदेश फिर्ता ल्याउन सम्बन्धित देशको कानुन बाधक बन्दा ल्याउन सकिएको छैन । ती मूर्ति सम्बन्धित देशको सङ्ग्रहालयमा सुरक्षित राखिएको छ,” उनले चने, “नेपालबाट सशक्त रूपमा कूटनीतिकमार्फत दबाब बढाए मात्रै मूर्ति फिर्ता हुन्छ नभए स्वदेश ल्याउन गाह्रो छ ।” ती प्रायः मूर्ति देवीदेवता, बुद्धका काठ, पत्थर, ढलोट, फलामद्वारा निर्माण गरिएका भएको उनले बताए । गोरखापत्र