
काठमाडौं, २४ साउन । बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घन गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ । बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ ।
यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४– ३ ले बार्सिलोना पराजित भएको थियो ।
युइएफएले दुवै खेलाडीलाई डोपिङ कन्ट्रोल अफिसरको निर्देशन पालना नगरेको र नियमअनुसार तुरुन्तै डोपिङ कन्ट्रोल स्टेशनमा उपस्थित नभएको आरोपमा जरिवाना गरेको हो । बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकलाई पनि सोही खेलमा भएको घटनाका लागि युइएफए क्लब प्रतियोगिताबाट एक खेलको निलम्बन र २० हजार युरो जरिवाना गरिएको छ ।
जर्मन प्रशिक्षकलाई आचरणका सामान्य सिद्धान्त र शिष्टाचारका आधारभूत नियम उल्लङ्घन गरेको ठहर गरिएको बताइएको छ । फ्लिकका सहायक प्रशिक्षक मार्कस सर्गलाई पनि उस्तै कारणले समान आर्थिक तथा खेल सम्बन्धी सजाय दिइएको छ । जसका कारण उनीहरू बार्सिलोनाको आगामी युरोपेली खेलमा बेन्चमा बस्न पाउने पाउने छैनन् ।








प्रतिक्रिया