
काठमाडौं, २४ साउन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औं साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका ज्ञवाली पार्टीभित्र विचार, अनुसन्धान र सैद्धान्तिक प्रशिक्षणमा गहिरो सरोकार राख्ने शालीन र बौद्धिक नेताका रूपमा चिनिन्छन् ।
पूर्वपरराष्ट्र मन्त्री समेत रहेका ज्ञवाली लामो समयदेखि एमालेको नीति, विचार र अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा सक्रिय रहेका छन् । उनको नेतृत्वले प्रतिष्ठानलाई अझ वैचारिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ ।
साधारण सभामा प्रतिष्ठानको भावी योजना, वैचारिक उत्पादन, स्मृति ग्रन्थ प्रकाशन र प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितको योगदान स्मरण गर्दै उनीहरूको विचारलाई आजको सन्दर्भमा जीवन्त बनाउने आवश्यकता औँल्याएका थिए ।
ज्ञवालीले प्रतिष्ठानलाई मुलुकको विचार निर्माण र अनुसन्धानको प्रमुख थलो बनाउने प्रतिवद्धता व्यक्त गरे ।








प्रतिक्रिया