
काठमाडौं, २३ साउन । सिद्धार्थ बैंक लिमिटेडको वितरणयोग्य मुनाफा तीन गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले अर्थात् २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो ।
डिबेन्चर रिडेम्सन रिजर्भमा एक अर्ब ४६ करोड रुपैयाँ रकम छुट्टाएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो ।
समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो । बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ । जसले खराब कर्जालाई २.६२ प्रतिशतमा सिमित गर्दै सन्तुलित विस्तार गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो । सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।









प्रतिक्रिया