६ असार २०८३, शनिबार

दशौँ राष्ट्रिय खेलकुदको मिति तय गर्न आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, २२ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारको आयोजनामा हुने भएपनि कर्णाली प्रदेश सरकार पूर्ण प्रतिबद्धताका साथ तयारीमा जुटिरहेको बताएका छन् ।

उनले अब मिति तोक्दा फेरि नसर्ने गरि निश्चित गर्न आग्रह गरेका छन् । युवा तथा खेलकुद मन्त्री तेजु चौधरीसँग प्रतियोगितासम्बन्धी परामर्शका लागि आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कंडेलले विगतमा मिति तोकिएर पनि प्रतियोगिता स्थगन हुनुले नकारात्मक सन्देश गएको उल्लेख गरे ।

हामी कर्णालीमा खेलकुद गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं, तयारी पनि गरिरहेका छौँ, मुख्यमन्त्री कडेलले भने, तर आयोजक तपाईंहरू हो, त्यसैले अब मिति तोक्दा त्यसमा कुनै फेरबदल नहोस् भन्ने कुरा ध्यान दिनुपर्छ ।

मुख्यमन्त्री कंडेलले प्रतियोगिता आयोजना गर्दा संघीय र प्रदेश सरकारबीचको स्पष्ट जिम्मेवारी, समन्वय र तालिका तयार गर्न आग्रह गरे । साथै, अघिल्ला तयारीका क्रममा देखिएका कमजोरी दोहोरिन नदिन पनि आग्रह गरेका छन् ।

उपसमितिहरू गठित गर्दा काम गर्ने उद्देश्य राख्नुपर्छ, जम्बो समिति बनाएर प्रचार मात्र गर्ने प्रवृत्तिबाट बच्नुपर्छ, उने भने । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतियोगिताको तयारीप्रति चासो देखाउँदै मिति नसर्ने गरी काम गर्न निर्देशन दिएकाले त्यसलाई गम्भीरताका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कंडेलले कर्णालीमा पूर्वाधार निर्माणको काम अघि बढाइएको र बाँकी संरचनाको निर्माण पनि छिट्टै सम्पन्न गरिने जानकारी गराउँदै प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्ति प्रक्रिया थालिएको बताएका छन् ।

उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलका लागि आवश्यक पूर्वाधार कर्णाली प्रदेश सरकारले निर्माण गरिसकेको र संघीय सरकारले बाँकी निर्माण कार्यमा सहजीकरण गर्नुपर्ने धारणा पनि राखेका थिए ।

युवा तथा खेलकुद मन्त्री चौधरीले अबको तयारी मिति नसर्ने गरी भइरहेको र सुर्खेत आसपासका क्षेत्रहरूमा २४ खेलका लागि प्रतियोगिता हुने जानकारी दिएका थिए ।