
काठमाडौं, २२ साउन । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो ।
यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए । यो उनीहरुको दोस्रो सहकार्य हो । विपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताइन् ।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन् । उनका अनुसार यो फिल्ममा विपनाको महत्वपस्र्ण भूमिका रहेको छ। नीताले यसअघि यो फिल्मका लागि कलाकारका रुपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन् । यस फिल्मको अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिँदै जाने निर्देशक अधिकारीको भनाई छ ।
आगामी फागुनबाट छायांकनमा जाने यो फिल्मलाई चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन् ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।









प्रतिक्रिया