३१ जेष्ठ २०८३, आइतबार

भिसाको नेपाल व्यवसाय प्रमुखमा मनोज थापा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसाले काठमाडौंमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ । भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिवद्धतालाई जोड दिन्छ । यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्वाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको छ । आफ्नो नयाँ भूमिकामा मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुनेछन् । मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन् ।

भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर अहमदले भने, “हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौँ । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको जारी प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दछ । एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ ।”

मनोज भुक्तानी र वित्तीय सेवा क्षेत्रमा एक दशकभन्दा बढी अनुभवी छन् । यसअघि, उनले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गरेका थिए । जहाँ उनले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गरेका थिए र अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी गठबन्धन बनाएका थिए । त्यसअघि, भारतमा लिभक्विक टेक्नोलोजी प्रालिमा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा उनले कम्पनीको वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यवसाय विकास प्रयासहरूको सफलतापूर्वक नेतृत्व गरेका थिए ।

“नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्न भिसामा सामेल हुन पाउँदा म सम्मानित छु,” मनोजले भने, “नवप्रवर्तन र सुरक्षित कारोबार प्रति भिसाको प्रतिवद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षम बनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर छु ।”