
काठमाडौं, २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।
उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गरेको समाचारसंस्था एएफपीले जनाएको छ । राष्ट्रपति ट्रम्पले टेलिभिजन अन्तर्वार्ताका क्रममा पहिलो चरणमा औषधिमा सानो दरको शुल्क लगाइने भए पनि आउँदो एक देखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए ।
यसैबीच राष्ट्रपति ट्रम्पले भारतमाथि पनि आयात शुल्क धेरै मात्रामा बढाउने योजना रहेको बताए । यसको कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्दै आएको विषय भएको उनको भनाइ छ ।
राष्ट्रपतिले यो निर्णय केही घण्टाभित्र लागू हुन सक्ने सङ्केत दिएको खबरमा उल्लेख छ । ट्रम्प प्रशासनले यसअघि सन् २०२५ को अप्रिल महिनामा धेरैजसो व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो ।
यसअघि राष्ट्रपति ट्रम्पले आयातित फलाम र एल्युमिनियममा ५० प्रतिशत भन्सार लगाइ सकेका छन् ।









प्रतिक्रिया