२७ जेष्ठ २०८३, बुधबार

उमेर छेकबारमा परेका विद्यार्थीलाई राहत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ साउन । नेपाल सरकारले विभिन्न नीति, कार्ययोजना तथा नियमावली स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को साउन १८ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको प्रस्तावमा नीति, कार्ययोजना तथा नियमावली स्वीकृत गरेको हो ।

मन्त्रीपरिषद्को साउन १८ गतेको निर्णय सार्वजनिक गर्न मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पाँचौँ संशोधन नियमावली–२०८२ र बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गरेको जानकारी गराए ।

एक पटकलाई जन्मदर्ता सच्याउन पाउने भएपछि अब कलिलै उमेर रहेका तर कक्षा १० मा पढिरहेका विद्यार्थीले आफ्नो जन्म २०६८ चैत वा सोभन्दा अघि नै रहेको भनी जन्मदर्ता बनाउन पाउने छन् । गत जेठमा कक्षा १० को रजिस्ट्रेसन फाराम भराउँदा कलिलै उमेरमा कक्षा १० मा पुगेको थुप्रै विद्यार्थी भेटेपछि राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको थियो ।

२०७८ मा शिक्षा मन्त्रालयले एसइईमा सहभागी हुन १४ वर्ष उमेर पूरा भएकै हुनुपर्ने प्रावधानलाई हटाएपछि कतिपय अभिभावक आफैंले विद्यार्थीको जन्ममिति सच्याएर वा कक्षा फड्काएर कलिलै उमेरमा माथिल्लो कक्षामा पठाउने गरेका थिए । बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेका केही विद्यार्थीको उमेर १४ वर्ष पूरा हुन तोकिएको मितिभन्दा दुई÷चार दिन मात्रै कम देखिएको थियो । केही विद्यार्थीको उमेर भने एसइईमा सहभागी हुने समयमा १२ वर्ष मात्रै पूरा हुने देखिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले केही नेपाल ऐन संशोधन भएपछि उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुने अवस्थामा पुगेका विद्यार्थीलाई राहत भएको बताए । तर यस्ता विद्यार्थी मुलुकभर कति रहेका छन् भन्ने विषयमा भने यकिन तथ्याङ्क नभएको उनले बताए ।

पछिल्लो समय एसइईमा उमेरको छेकबार हटेपछि सानो उमेरमा माथिल्लो कक्षामा पढेको देखाउन अभिभावकले समेत बच्चाको जन्ममिति बिगारेर भर्ना हुने समयमा घटाउने गरेका थिए । केही अभिभावकले भने कक्षा फड्काएर पढाउने गरेका थिए । केही नेपाल ऐन संशोधन भएसँगै व्यक्तिगत घटना विवरण नमिलेर झन्झट बेहोरिरहेका व्यक्तिले पनि राहत पाउने महसुस गर्ने छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाका हकमा मात्रै लागु थियो ।