२२ असार २०८३, सोमबार

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० साउन । दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको न्यायाधीश पदमा रहेर सेवा निवृृत्त भएका र कार्यरक्त तीन जना न्यायाधीशलाई सम्मान गरेको छ ।

भीमेश्वर नगरपालिका बोच घर भई सर्वोच्च अदालतका पूर्वन्यायाधीश भएर काम गरिसकेका बलराम केसी, तामाकोसी गाउँपालिका–६ च्यामा पुर्खौली घर भई सर्वोच्च अदालतमा कार्यरक्त न्यायाधीश हरिप्रसाद फुँयाल र जफे घर भई सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीश मेघराज पोखरेललाई समाजले एक कार्यक्रममा सम्मान गरेको हो ।

पूर्वन्यायाधीश केसीले आफूले काम गर्दा न्यायालयको सुधार गर्दै न्यायसम्पादन प्रभावकारी रूपमा गरेको उल्लेख गर्दै संवैधानिक इजलासमा विज्ञताको आधारमा न्यायाधीश राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । न्यायाधीश फुँयालले आफूप्रतिको विश्वास कायम राख्दै प्रतिष्ठामा आँच नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन् । न्यायाधीश पोखरेलले सर्वोेच्च अदालतमा काम गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको बताउँदै यसप्रति जिम्मेवार भएर आफूले सकेसम्म उल्लेख्य काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ताहरू लक्ष्मीप्रसाद उप्रेती, सुभद्रा सिटौला, अधिवक्ता प्रवीण प्रधानलगायतले न्यायालयको नेतृत्वमा रहेर काम गर्ने दोलखालीलाई राम्रो अवसर मिल्नु गर्वको विषय भएको बताउँदै पीडितलाई न्याय पर्नेगरी काम गर्ने विश्वास व्यक्त गरेका थिए ।

समाजका उपाध्यक्ष सहदेव पाण्डेले दोलखा जिल्लामा घर भई विभिन्न ठाउँमा रहेर कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिलाई एकीकृत गरी सकारात्मक काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिए ।