२८ जेष्ठ २०८३, बिहिबार

संसद् बहिष्कारले निकास दिँदैन, संवादमै समाधान खोजौँ : ठाकुर गैरे

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने स्पष्ट पारेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराउँदै जनताले चिताएका परिवर्तनहरू संसद् भित्रैबाट अघि बढ्नुपर्ने धारणा राखेका हुन् । ‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो,’ सांसद गैरेले भने, ‘तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ। नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन।’

उनले सभामुखलाई लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने शैलीमा संसद् चलाउनु स्वस्थ अभ्यास नभएको बताउए । संसद् सबैको साझा थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

सांसद गैरेले सदनमार्फत जनताका जीवनसँग जोडिएका विधेयकहरू अघि बढाउन ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे । शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उनले स्मरण गराए । उनले अहिले कोआवश्यकता कार्यान्वयन हुने कानुन बनाउनु भएको बताउँदै स‌ंसद अवरोध गर्न नहुने स्पष्ट पारेका छन् ।

गैरेले वातावरण परिवर्तनका असर र सामाजिक सुरक्षाजस्ता विषय संसदमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘वातावरण परिवर्तनले नेपालका हरेक क्षेत्र प्रभावित छन्, यसलाई सम्बोधन गर्न कानुनी संरचना आवश्यक छ, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफैँ वडा कार्यालय धाउनु पर्ने अवस्थाले समस्या थपिएको छ, यस्तो कार्य प्रणालीलाई कानुनीरूपमै सरल बनाउनुपर्छ’, उनले भने ।

संसद जनताका प्रतिनिधिहरूको मञ्च भएकाले जनताका चासो र सरोकारका विषयमा ज्वलन्त छलफल हुनुपर्नेमा उनले जोड दिए । संसदको निरन्तर बहिष्कार, नाराबाजी र अवरोधले एक पक्षलाई दोषी ठहर गर्दै टाउकोमा दोष थोपरेर हिँड्दा समाधान नआउने भन्दै उनले सबै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आह्वान गरे ।

गैरेले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन केही शक्ति लागिपरेको उल्लेख गर्दै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बेला आएको बताए । ‘आज लोकतान्त्रिक व्यवस्थामाथि आघात गर्ने प्रयास भइरहेका छन्, स‌विधान कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा अघि बढ्न सबै शक्ति एक ठाउँमा उभिनुपर्छ’, उनले भने ।

नेपालप्रति निराशा फैलाउने, ‘नेपालमा केही छैन’ भन्ने भ्रम सिर्जना गरेर भोट खोज्ने प्रवृत्तिप्रति सचेत रहन उनले आग्रह गरे । यस्ता भ्रम फैलाउने दुष्साहसले मुलुक र जनतालाई धोका दिने उनले भने ।