२२ जेष्ठ २०८३, शुक्रबार

२०३० को काठमाडौं देखिने सेट बनाएर ‘क्याप्टेन साब’को छायांकन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । चलचित्र ‘क्याप्टेन साब’को भव्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो ।

विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन भइरहेको हो ।

विसं २०३० र ४० को काठमाडौंमा कस्ता घर थिए भन्ने सेटमा देखिएको छ । एकै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षले जनाएको छ ।

“काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, “त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ ।” चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए ।

सेटको तस्वीरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।

“जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ,” निर्देशक खनालले भने, “त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ ।”

चलचित्र ‘क्याप्टेन साब’को गत शनिबार (साउन १०)देखि छायांकन सुरु भएको छ । काठमाडौंसँगै काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा हुनेछ ।

चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

निर्देशक खनालकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् ।

सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।