
काठमाडौं, १८ साउन । एसिया कप २०२५ मा भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । दुवै देश समूह ‘ए’ मा हुनेछन् । यो समूहमा यी दुईसहित ओमान र युएई पनि छन् । प्रतियोगिता सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म युएईमा आयोजना हुनेछ । भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४, आइतबार दुबईमा हुनेछ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन् । प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणको लागि चार टोलीको अर्को समूहमा प्रवेश गर्नेछन् र त्यो समूहका शीर्ष दुई टोली सेप्टेम्बर २८ मा फाइनलमा पुग्नेछन् ।
फाइनलसहित कुल ११ खेल दुबईमा खेलिनेछ भने अबुधाबीमा आठ खेल हुनेछन् । गत हप्ता एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीले प्रतियोगिताको घोषणा गरेका थिए । प्रतियोगिताको यो संस्करण टी–२० ढाँचामा खेलाइनेछ, जसमा आठ टोलीले भाग लिनेछन् ।
एसीसीका पाँच पूर्ण सदस्यहरू ( अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका ) बाहेक युएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्नेछन् । ढाकामा भएको एसीसीको वार्षिक बैठकमा एसिया कप मुख्य मुद्दा थियो । मे महिनामा भारत–पाकिस्तान सैन्य झडप पछि प्रतियोगिताको १७ औं संस्करण अनिश्चित भएको थियो ।
भारत यो प्रतियोगिताको आयोजक हो । तर, बीसीसीआई र पीसीबीबीचको सम्झौता पछि यो युएईमा सारिएको हो । दुई बोर्डले आगामी तीन वर्षसम्म भारत र पाकिस्तान दुवैलाई सहभागी गराउने प्रतियोगिता तटस्थ स्थानमा आयोजना गर्न सहमत भएका छन् ।
यो सम्झौता २०२५ को च्याम्पियन्स ट्रफीको ठीक अगाडि भएको थियो । त्यसपछि भारतले आफ्ना सबै खेल दुबईमा खेलेको थियो, जसमा आयोजक पाकिस्तानविरुद्धको खेल पनि समावेश थियो । प्रतियोगिताको फाइनल पनि दुबईमा भएको थियो, जुन भारतले जितेको थियो ।
भारत डिफेन्डिङ च्याम्पियन हो, जसले २०२३ मा अघिल्लो संस्करणको फाइनलमा श्रीलंकालाई हराएको थियो ।









प्रतिक्रिया