
काठमाडौं, १६ साउन। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्नु पुगेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आज एमाले विभाजन गर्ने नेताहरू पश्चात्तापमा छटपटाइरहेका बताएका हुन् ।
‘जुन नेताहरूले हिजो नेकपा एमाले विभाजन गरेर एमालेको विकल्प पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन माओवादीसँग एकता गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको छ’, उनले भने ।
पार्टी फुटाउन जुन कार्यकर्तालाई उत्तेजित पार्नेहरू आफ्नो अभियानमा असफल भएका पोखरेलले बताए । त्यस कारण असफल नेतृत्वका पछाडि लागि रहनु उचित हुँदैन, कार्यकर्ताहरू अब आफ्नै घर फर्कनु पर्दछ’, उनले भने ।
उनले एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्ताहरूलाई अब आफ्नै घर फर्कन आग्रह गरेका छन् । नेताहरू हताश भएर हिँडेका बेलो कार्यकर्ताहरू सही बाटोमा हिँड्नु पर्नेमा पोखरेलले जोड दिए ।








प्रतिक्रिया