२८ जेष्ठ २०८३, बिहिबार

नीताको फिल्म ‘सुख दुःख’मा मिथिलापछि मदनकृष्ण अनुबन्ध

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको हो ।

फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफूलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए ।

मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन् । उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो ।’

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो । मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । यसअघि यो फिल्मको छायांकनका लागि चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन् ।

नीताको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् ।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ । यो फिल्मको वितरण अधिकार उपत्यका बाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।