
काठमाडौं, १६ साउन । मलेसियामा जारी १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा पलेशा गोवर्धनले कास्य पटक जितेकी छिन् ।
कुचिङमा भएको च्याम्पियनसिपको के–४४ क्याटगोरीको सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन् । यो खेलमा लीले पलेशालाई पहिलो राउन्डमा ४–० र दोस्रो राउन्डमा १०–० ले सहजै माथ दिइन् ।
सेमिफाइनलमा १४–० ले हारेकी पलेशाले कास्य पदकमा चिक्त बुझाइन् । यसअघि उनले क्वाटरफाइनलमा उज्वेकिस्तानकी जुराएभा कमोलालाई २३–६ ले हराएकी थिइन्।
उनको यो करियरको छैटौं अन्तराष्ट्रिय पदक हो । युथ एशियन गेम र एशियली पारा ओलम्पिक्समा स्वर्ण जितेकी थिइन् । पेरिस पारा ओलम्पिक्स, एशियन गेम र एशियन च्याम्पियनसिपमा कास्य हात पारेकी थिइन् । उनी नेपालको लागि ओलम्पिक्सबाट पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा नेपालले जितेको यो १२ औं अन्तर्राष्ट्रिय पदक हो। उनको नेतृत्वमा नेपाली पारा तेक्वान्दोबाट ३ स्वर्ण, २ रजत र ७ कास्य पदक प्राप्त भएको छ ।
सहभागी अन्य खेलाडी भरत सिंह महता, अमिर ब्लोन, कामना प्रसाई र रेणु तामाङ पहिलो चरणबाट बाहिरिए ।









प्रतिक्रिया