
काठमाडौं, १५ साउन । नेपालले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । आईसीसीले घोषणा गरे अनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।
१० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन् । यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।
बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन् ।
एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ । अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।
नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ ।








प्रतिक्रिया