२९ आश्विन २०८३, बिहिबार

नेपालगन्ज नाकाबाट चौहत्तर अर्बभन्दा बढी व्यापार घाटा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाँके, १५ साउन । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ७४ अर्ब रुपियाँभन्दा बढीको व्यापार घाटा भएको छ । जमुनाहा नाकाबाट आयातको तुलनामा अति नै न्यून परिमाणमा निर्यात भएकाले यस नाकाबाट ७४ अर्ब ३२ करोड ३२ लाख ३० हजार रुपियाँको व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार गत आवमा आयातनिर्यातको तुलना गर्दा यो नाकाबाट ९६ प्रतिशत व्यापार घाटा भएको हो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आवमा नेपालगन्ज नाकाबाट ७७ अर्ब ५३ करोड आठ लाख ७१ हजार रुपियाँको आयात भएकोमा तीन अर्ब २० करोड ७६ लाख ४१ हजार रुपियाँको मात्र निर्यात भएको जानकारी दिए ।

उनका अनुसार अघिल्लो आव २०८०/८१ मा नेपालगन्ज नाकाबाट ७० अर्ब २१ करोड ५९ लाख चार हजार रुपियाँको आयात भएकोमा दुई अर्ब ४१ करोड ९० लाख ८३ हजार रुपियाँको निर्यात हुँदा ६७ अर्ब ७९ करोड ६८ लाख २१ हजार रुपियाँ अर्थात् ९७ प्रतिशत व्यापार घाटा भएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा एक प्रतिशत मात्र व्यापार घाटा घटेको पाइएको छ ।

भन्सार कार्यालयका प्रमुख पौडेलले यो नाकाबाट निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको जनाउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।