१५ असार २०८३, सोमबार

नेपाली टोली यु–२० महिला एसियन कप छनोट खेल्न जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । भुटानमा हुने एएफसी यु–२० एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे‌ ।

साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट खेल्न लागेको हो। साफमा नेपाल उप विजेता बनेको थियो । सो उत्साहजनक प्रदर्शनको तारिफ गर्दै विना दबाब उत्कृष्ट खेल प्रदर्शन गर्न सदस्य सचिव घिसिङले शुभकामना दिए ।

एन्फा अध्यक्ष नेम्वाङले फुटबल टिम भावना अनुसार खेल्न आग्रह गरे । उनले टोली भित्र टिम भावनाको कमी भएको सुनेको भन्दै टिम प्रशिक्षक, म्यानेजर र कप्तानलाई टिमलाई एकजुट बनाउन निर्देशन दिए ।

एन्फा महासचिव किरण राईले बंगलादेशमा देखाएको प्रदर्शनले नेपाली महिला टोलीको बेन्चको रुपमा खेलाडी तयार भएको जिकिर गरे । थिम्पुमा आगामी अगस्ट ६ देखि १० सम्म हुने एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग खेल्नेछ ।‌

प्रशिक्षक यामप्रसाद गुरुङले एएफसी यु–२० महिला एसियन कपमा छनोट हुने लक्ष्य सहित भुटान जाने बताए । उनले टोलीमा कुनै पनि इन्ज्युरी समस्या नभएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

कप्तान बिर्सना चौधरीले डिफेन्समा कमजोर भएपनि मिड र फरवार्डमा नेपाल बलियो भएको बताइन् । उत्तर कोरियाको बारेमा जानकारी धेरै नभएपनि जित्नको लागि खेल्ने उनले बताइन् ।‌

समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु–२० महिला एसियन कपमा स्थान बनाउनेछ ।छनोटमा कुल ४ समूह छ । प्रत्येक समूहको विजेता र ४ समूहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ ।

नेपालले अगस्ट ६ मा पहिलो खेलमा भुटानसँग खेल्नेछ ।‌ बंगलादेशमा भऐको साफ यु–२० मा नेपालले भुटानलाई ६–१ र ८–० ले हराएको थियो ।