
– कृष्ण पौडेल
कपिलवस्तु, १४ साउन । डिभिजन वन कार्यालय, कपिलवस्तुले हालसालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
कार्यालयले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनुका साथै स्पष्टीकरण पनि दिएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) सम्बन्धित स्थानीय प्रतिनिधिबाट सार्वजनिक रूपमा वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी तथ्यहीन टिप्पणी र आरोपहरू लगाइएपछि कार्यालयले वन ऐन, नियमावली र कार्यविधिअनुसार काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत ईश्वरी पौडेलका अनुसार वन ऐन २०७६, वन नियमावली २०७९ तथा सम्बन्धित कार्यविधिअनुसार मात्रै सामुदायिक वन उपभोक्ता समिति गठन र स्वीकृति दिइन्छ। कुनै पनि समूह वा व्यक्ति विशेषलाई पक्षपात नगरिएको भन्दै उनले सामाजिक सञ्जाल, केही समाचार माध्यममा प्रचार तथ्यविहीन र भ्रामक रहेको स्पष्ट पारे ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार कुनै पनि सामुदायिक वन उपभोक्ता समूह गठन वा स्वीकृतिका लागि समूह स्वयंको निर्णय, खुला सदस्यता आव्हान, आर्थिक/प्राविधिक विवरण, कार्य योजना र पारदर्शी प्रक्रिया अनिवार्य गरिन्छ। कार्यालयले कुनै पनि समूह वा संस्थालाई व्यक्तिगतरराजनीतिक स्वार्थ का आधारमा समर्थन नगरेको जनाएको छ।
वैज्ञानिक वन व्यवस्थापनको विरोध गर्दै आएको फेकोफनले वैज्ञानिक वन महासङ्घको स्थापना दिवस मनाउने कार्यक्रमलाई लक्षित गरी विवाद सिर्जना गरेको आरोप लगाइएको छ । अघिल्लो पटक अर्जुन बहादुर केसी प्रदेश वन मन्त्री नियुक्त हुँदा गरिएको स्वागत तथा सम्मान कार्यक्रमलाई समेत विवादित बनाएपछि उनी कार्यक्रम स्थलमा पुगेर निस्किएका थिए ।









प्रतिक्रिया