३० जेष्ठ २०८३, शनिबार

बेलायतमा चर्चको जग्गामा मन्दिर निर्माण गरिदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन् ।

नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरुको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् । सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको भू–भाग र भवन बिक्रीमा ल्याउने चलन छ ।

डाटफोर्ड स्वतन्त्र आध्यात्मिकतावादी चर्चले सञ्चालन गर्दै आएको उक्त चर्च सञ्चालन गर्न नसकिने अवस्थामा पुगेपछि विक्रीका लागि राखिएको थियो । छ लाख पचासी हजार पाउण्ड मूल्यको उक्त चर्च अब मन्दिरको रूपमा विकसित गरिने भएको हो ।

बेलायतमा बसोबास गरिरहेका पोखराका भरत लामिछानेका अनुसार उक्त भवन पहिले क्रिस्चियन धर्मावलम्बीको आस्थाको थलो थियो । अब सोही स्थानमा मन्दिर बनाउने सपना पूरा हुँदैछ । उनले भने, ‘कुरा सुन्दा आश्चर्य लाग्ला, तर बेलायतमा यस्तो सामान्य हो । चर्च मात्र होइन, अन्य यस्ता भवन पनि सञ्चालन गर्न नसकिएपछि बेचिन्छन् । बेचिएपछि कोहीले घर बनाउँछ, कोहीले अन्य प्रयोजनमा प्रयोग गर्छ। तर हामी हिन्दू समुदाय मिलेर मन्दिर बनाउँदैछौं ।’

लामिछानेका अनुसार आगामी तिहारसम्म मन्दिर खुल्ने र तुरुन्तै लक्ष्मीको मूर्ति स्थापना गरी पूजा गर्ने योजना छ । ‘तत्काल धेरै परिवर्तन नगरे पनि चर्चको क्रस संकेत हटाएर हिन्दू धर्मसँग सम्बन्धित चिन्ह—जस्तै ॐ वा अन्य कुनै धार्मिक चिन्ह राखेर मन्दिरको रूपमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

उक्त चर्च सन् १९५५ मा शिलान्यास भएको हो । त्यस हिसाबले यो लगभग ७० वर्ष पुरानो हो । हाल प्रयोगमा नरहेको र विक्रीका लागि राखिएको उक्त भवन मन्दिरको प्रयोजनका लागि उपयोग गरिने योजना नेपालीहरूले बनाएका हुन् ।

लामिछानेले यो महत्वाकांक्षी योजनामा स्थानीय नेपालीहरूले खुलेर सहयोग गरेको बताउँदै फण्ड संकलन भइरहेकाले भविष्यमा सो स्थानमा रहेको भवनलाई हटाएर सांस्कृतिक तथा धार्मिक हिसाबले पूर्ण मन्दिर बनाउने योजना रहेको बताए ।