२९ जेष्ठ २०८३, शुक्रबार

८.७ म्याग्निच्युडको भूकम्पपछि रुस, जापानका धेरै भागमा सुनामी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । रुसमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्पपछि रुसको कुरिल टापु र जापानको ठूलो उत्तरी टापु होक्काइडोको तटीय क्षेत्रहरूमा सुनामी आएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार पहिलो सुनामी छाल लगभग ३० सेन्टिमिटर अग्लो होक्काइडोको पूर्वी तटमा रहेको नेमुरोमा पुगेको थियो । गभर्नर भ्यालेरी लिमारेन्कोका अनुसार पहिलो सुनामी छाल प्रशान्त महासागरमा रहेको रूसको कुरिल टापुहरूको मुख्य बस्ती सेभेरो–कुरिलस्कको तटीय क्षेत्रमा आएको थियो । नजिकै बस्ने मानिसहरू सुरक्षित छन् । अर्को छालको खतरा समाप्त नभएसम्म उनीहरू उच्च स्थानहरूमा रहनेछन् ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर अग्ला छालहरू हवाई, चिली, जापान र सोलोमन टापुका केही तटीय क्षेत्रहरूमा पुग्न सक्ने बताएको छ । रूस र इक्वेडरका केही तटीय क्षेत्रहरूमा ३ मिटरभन्दा अग्ला छालहरू उठ्न सक्छन् ।

रुसी समाचार एजेन्सी तासले भूकम्पको केन्द्रबिन्दु नजिकैको सबैभन्दा ठूलो शहर पेट्रोपाभ्लोभ्स्क–कामचात्स्कीमा मानिसहरू सडकमा निस्केका जनाएको छ । धेरै जना जुत्ता, लुगा बिना सडकमा हिँडिरहेको देखिएका थिए । घरहरुमा क्षति पुगेको छ भने सडकमा कारहरू क्षतिग्रस्त भएको देखिएको छ ।

तासले समाचारले कामचट्का क्षेत्रको राजधानीमा बिजुली अवरुद्ध भएको र मोबाइल फोन सेवा पनि अवरुद्ध भएको उल्लेख गरेको छ । सखालिन टापुका बासिन्दाहरूलाई खाली गराइएको छ र आपतकालीन सेवाहरू पूर्ण क्षमतामा काम गरिरहेको स्थानीय रूसी अधिकारीले बताएका छन् ।

यस्तै, अलास्कास्थित राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्का अलेउटियन टापुका केही भागहरूमा सुनामीको चेतावनी जारी गरेको छ । क्यालिफोर्निया, ओरेगन, वाशिंगटन र हवाई लगायत पश्चिमी तटका केही भागहरूमा पनि सतर्कता जारी गरिएको छ । यो चेतावनीमा अलास्काको तटीय क्षेत्रको ठूलो भाग, प्यानह्यान्डलका केही भागहरू पनि समावेश छन् ।