
काठमाडौँ, १३ साउन । छुर्पी निर्यात हालसम्मकै उच्च रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५१ करोड रुपियाँ बराबरको २६ लाख एक हजार किलो छुर्पी निर्यात भएको छ । यो निर्यातले आव २०७/९८० को १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको हो । आव २०८०\८१ मा तीन अर्ब १८ करोड रुपियाँ बराबरको १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएको थियो ।
विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब ९६ करोड, आव २०७८\७९ मा दुई अर्ब ९१ करोड, आव २०७९/८० मा तीन अर्ब ४० करोड रुपियाँ बराबरको छुर्पी निर्यात भएको थियो ।विभागका अनुसार आव २०८१/८२ मा २५ देशमा नेपालको छुर्पी पुगेको छ । अमेरिका, क्यानडा जापान र कोरियामा सबैभन्दा धेरै छुर्पी जाने गरेको छ ।
सरकारले छुर्पी निर्यातमा दिइएको भन्सार छुट र खोरेत रोगको जोनिङ र कम्पार्टमेन्टलाइजेसनको कार्यान्वयन भएपछि युरोपेली देशमा निर्यातको वातावरण बनेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले जानकारी दिए ।
नेपालको छुर्पी कुकुर र बिरालोको खानाका रूपमा ‘डग च्यु’ निर्यात हुने गरेको छ । ‘डग च्यु’ एक प्रकारको छुर्पी नै रहेको शाहीले उल्लेख गरे । मानिसले खाने छुर्पीभन्दा ‘डग च्यु’ मा चिल्लोको मात्रा शून्य हुने गर्दछ । मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा पनि हुन्छ । निकासी हुने छुर्पी बनाउँदा दुधलाई फटाएर विभिन्न प्रक्रिया पूरा गर्दै बनाइने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले उल्लेख गरे। गोरखापत्र








प्रतिक्रिया