
काठमाडौँ, १२ साउन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् ।
आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको टोलीलाई प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिइएको हो ।
समितिका सभापति ठाकुर गैरे नेतृत्वको टोलीलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा मन्त्रालयका तर्फबाट निर्माणको प्रत्यक्ष अनुगमन गरिरहेका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीले कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
जानकारी अनुसार पहिलो चरणका प्याराफिट र फ्लडलाइटसमेत गरी दुवैतर्फ करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिइएको थियो । “पहिलो चरणको निर्माण सकिएपछि १० हजार र दोस्रो चरणमा २५ हजार दर्शक अटने गरी सिट क्षमता विस्तार गरिने छ । सिट ढलानतर्फ पहिलो चरणमा गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको ढलान भइसकेको छ । ढलान सम्पन्न भएका ठाउँमा सिटहरू जडान गरिएको र अन्तिम चरणका एक हजार ७०० सिट भारतबाट आउँदै छन्”, सचिव सिग्देलले भने ।
रङ्गशालमा रातिसमेत खेल सञ्चालन गर्ने उद्देश्यले जडान हुन लागेका छ वटा फ्लडलाइटका लागि जमिनमुनि गर्नुपर्ने सबै कार्य सम्पन्न भएको र भारतबाट तीन वटा स्ट्याण्ड ल्याइसकिएको उनले बताए ।
त्यसमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदै गरेको पनि जानकारी गराइएको थियो । रङ्गशाला निर्माणका लागि पहिलो र दोस्रो चरण गरी कुल रु छ अर्ब लागत अनुमान गरिएको छ ।
प्रथम चरणलाई सम्पन्न गरेर नेसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ । संसदीय टोलीलाई जमिनको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका चासोलाई सम्बोधन गर्नुपर्ने विषयमा जानकारी दिइएएको थियो ।
“लिजमा जमिन लिई क्रिकेट मैदान सञ्चालन गर्न क्यान र विश्वविद्यालयबीच भएको सम्झौता आगामी वैशाखमा सकिने भएकाले त्रिविका चासो सम्बोधन गर्दै छलफल गराउनुपर्ने जानकारी पनि दिएका छौँ”, मन्त्रालयका सचिव सिग्देलले भने ।
क्यान सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै दोस्रो चरणको एनपिएल त्रिवि मैदानमा फ्लडलाइटमा खेल्ने लक्ष्य पूरा गर्नेगरी काम भइरहेको बताए । साथै देशका विभिन्न स्थानमा सिन क्रिकेट मैदानका लागि कार्य सुरु भएको खड्काको भनाइ थियो ।








प्रतिक्रिया