
काठमाडौं, ११ साउन । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआइ १०० मा समावेश गरिएको छ । यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो ।
बिराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआइ), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको संगममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन् । विश्वका प्रमुख वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने क्रस रिभर बैंकमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन् ।
रिजालले आफ्नो करियर सिटि ग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको क्वान्टिटेटिभ स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन् । उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिंगमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित इडी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ फाइनान्समा विद्यावारीधी गर्दैछन् ।
एआइ १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ ।
कार्यक्रम आयोजकहरूले रिजाललाई वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिनसक्ने एक साहसी र बहु–विषयगत नेताु को रुपमा चित्रण गर्दै उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए ।
अमेरिका भरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था ‘एआइएम रिसर्च’ ले गरेको थियो ।








प्रतिक्रिया