
– अन्जनी कुमार अधिकारी
उदयपुर, ९ साउन । असारे विकास निर्माण सम्पन्न गर्न हरेक बर्षको मसान्त अर्थात असारमा निर्माण कार्य सम्पन्न गर्न सरकारी कार्यालय देखी ठेकदार कम्पनि सम्म कम्मर कसेर लाग्छन् ।
उनीहरुले हतारको काम लतार पतार भने झैँ योजनाको पैसा सक्नकै लागी भए पनि असारमा भ्याइनभ्याई बिकास निर्माणको कार्यको चटारोमा जुट्ने गरेका छन् । जसका कारण राज्यको करोडौंको लगानी बर्षा संगै आएको बाढीमा बग्ने गरेको छ ।
यसकै एउटा उदाहरण बनेको छ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ४ को कालोपत्रे सडक । संघीय सरकारको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गतको ६८ लाख ६३ हजार ५७७ रुपैया बजेट विनियोजन गरेर स्थानीय चटपटे टोल, बसाहा थान, बर्षेडांडा, गंगटे, माडिवास हुँदै बेल्टार जाने सडक खण्डको चटपटे टोल एरियामा झन्डै ४ सय ९० मिटर कालो पत्रे सडक निर्माणको जिम्मा सिताराम कन्ट्रक्सन बेल्टारले गएको वैशाख १२ गते सम्झौता गरी कामको जिम्मा लिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनिले असार २० गते भित्र काम सम्पन्न गर्नु पर्ने थियो यद्यपि निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न सकेन ।
निर्माण कम्पनिले समयमा काम सम्पन्न नगरेपछि स्थानीयहरुले साउन १ गते अख्तियारमा मुद्धा दायर गरेका थिए । स्थानीय अख्तियार गएपछि निर्माण कम्पनि र सडक डिभिजन कार्यालय लहानको मिलेमतोमा साउन ४ गते हतारपतारमा कालोपत्रेको काम गरिएको थियो । हतारमा काम गर्दा गुणस्तरीय काम नभएको स्थानीय गणेश पुङमा राईले बताए। राईका अनुसार उक्त बाटोमा १ सय २६ मिटर नालीको समेत काम गर्नु पर्ने थियो तर अहिले नालीको सम्म काम भएको छैन ।
४ सय ९० मिटर लम्बाई रहेको उक्त सडकमा १/१ मिटर सोल्जर र ५.५ मिटर ब्ल्याक टप हुनु पर्ने हो तर सो मापदण्ड समेत पुरा भएको छैन । स्थानीयका अनुसार निर्माण कम्पनि र सडक बिभागको मिलेमतोमा निर्माण व्यवसायीलाई आसार मसान्तमै काम नै सम्पन्न नगरी भुक्तानी गरिएको तर पछि अख्तियारको डरले हतारमा काम सम्पन्न गरिएको हो ।
यस बिषयमा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत आफ्नो ध्यानाकर्षण भएको बताए । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सामाजिक संजालमा चटपटे टोलमा गरिएको कालोपत्रेमा भएको समस्या देखेको र तत्काल उक्त समस्या समाधान गर्न सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णलाई समेत भनि सकेको बताएका हुन् । उनले राज्यले गरेको बिकास निर्माणको लगानीमा राज्यको मापदण्ड बिपरित काम गर्ने कसैलाई छुट नहुने भन्दै तत्काल उक्त समस्या समाधानका बिकल्प खोजिने स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले उक्त सडक निर्माणको अनुगमन स्थानीय सरकारले पनि गर्नु पर्ने धारणा राखे । उनका अनुसार जिम्मेवारीको हिसावले नगरपालिकाको कुनै पनि जिम्मेवारी नभए पनि आफ्नो पालिकामा भएको निर्माणको कार्यमा पालिकाले उपस्थिति जनाएर गुणस्तर चेकजाँच गर्नु पालिकाको कर्तब्य भएको बताए ।
सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले भने उक्त क्षेत्रको कालोपत्रेमा समस्या आएको आफुले पनि जानकारी पाएको बताउनु भयो । प्रमुख कर्णले समस्या आएको कुरा थाहा पाएपछि तत्काल आफुले दुइ जना इन्जिनियरलाई त्यहाँको स्थलगत अवलोकन गरि प्रतिवेदन पेश गर्न भनेको बताउनु भयो । कर्णले निर्माण ब्यबसायीलाई उक्त कामको बजेट भुक्तानी गरिएको भन्ने कुरा सत्य नभएको बताउनु भयो । उहाँले उक्त सडक असार मसान्त सम्ममा सम्पन्न गर्नु पर्ने बाध्यता भएको भएपनि निर्माण ब्यबसायीले काम गर्दा गर्दै केही ढिला भएको स्वीकार्दै आफुहरुले निर्माण ब्यबसायीलाई बेस सम्मको मात्र भुक्तानी गरेको र बाकी काम सम्पन्न भएपछि मात्र गरिने दावी गर्नु भयो ।
निर्माण ब्यबसायी भन्छन्– गलत प्रचार गरियो
उता चटपटे टोल, बसाहा थान, बर्षेडांडा, गंगटे, माडिवास हुँदै बेल्टार जाने सडक खण्डको चटपटे टोल एरियामा झन्डै ४ सय ९० मिटर कालो पत्रे सडक निर्माणको जिम्मा पाएको सिताराम कन्ट्रक्सन बेल्टारका संचालक तेजनारायण शाहले आफुले गरेको काम सडक बिभागले दिएको मापदण्ड अनुसारनै भएको दावी गरेका छन् । संचालक शाहले आफुलाई बदनाम गर्ने उद्धेश्य सहित कुप्रचार गरिएको हो, सामाजिक संजालमा जस्तो कुरा आएको छ घटना स्थल त्यस्तो नभएको जिकिर गरे ।
शाहले आफुलाई सडक विभागले दिएको समय भित्रै सडक निर्माणको अधिकांश काम सम्पन्न गरेको बताउदै कालोपत्रे लगाउने काम मात्र ढिला भएको बताए । उनका अनुसार कालोपत्रे लगाउन साथ उक्त अलकत्रा सेट हुन नपाउदै गाडी हिँडाई दिंदा सडकको एक छेउमा समस्या आएको र उक्त ठाउँ देखाउँदै आफूलाई गलत सावित गर्न खोजिएको बताएका हुन्।
निर्माण व्यवसायीका अनुसार अहिले उक्त (समस्या आएको ठाउँ) खण्ड समेत मर्मतको कार्य सम्पन्न भैसकेको छ ।








प्रतिक्रिया