
काठमाडौं, ९ साउन । सरकारले लागु गरेको यूरो ६ मापदण्डलाई छलेर युरो ६ भन्दा मुनिका गाडी आयात गर्न खोजिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आपत्ति जनाएको छ ।
केहि व्यवसायीहरुले पुरानो मिति राखेर युरो ६ भन्दा मुनिका गाडी आयात गर्न खोजेको भन्दै मञ्चले अटोमोबाइल एशोसिएशन अफ नेपालको ध्यानाकर्षण गराएको हो । मञ्चले नाडालाई पत्र लेख्दै भनेको छ, ‘नेपाल सरकारले मिति २०८२/०३/१० गते देखि लागु हुने गरी नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ जारी गरे पछि यस मञ्चले कार्यान्वयनको लागि सहजीकरण गरिरहेको छ । उक्त मापदण्डले असार ९ गतेसम्म खोलि सकिएका प्रतीतपत्र वा बैंकको माध्यमबाट गरी सकिएको भुक्तानी बमोजिम नेपालमा पैठारी गरिने सवारी साधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन एसेम्बल वा उत्पादन गर्न अवश्यक पार्ट पुर्जाहरू प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनहरूका हकमा नेपाल सवारी प्रदुषण मापदण्ड, २०६९ को व्यवस्था नै लागु हुने गरी व्यवस्था गरिएको छ ।’
नेपाल सवारी प्रदुषण मापदण्ड २०६९ (युरो ३) जारी भएको १३ वर्ष पश्चात स्तरोन्नती गरी सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागु गरेको हो । सरकारले आव २०८२/०८३ को नीति तथा कार्यक्रममा समेत युरो ६ मापदण्ड जारी गर्ने उल्लेख गरेको छ ।
तर हाल नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका केही सदस्यहरू तथा केही अटोमोबाइल व्यवसायीहरूले राजपत्रमा उल्लेखित उक्त व्यवस्थाका अतिरिक्त प्रो फर्मा इन्भ्वाइसका अधारमा पुरानो सवारी प्रदुषण मापदण्ड २०६९ (युरो ३) का सवारी साधनहरूलाइ समेत अयात गर्न पाउनु पर्ने माग गरेको मञ्चले बताएको हो ।
यसरी पुराना सवारी साधनहरू अयात गर्न अनुमति दिने हो भने नेपाल पुराना र प्रदुषण बढी गर्ने सवारी साधनहरूको डम्पींग गर्ने स्थान बन्न जाने र नेपाली जनताको जनस्वास्थ्य माथि गम्भीर खेलवाड हुन जाने मञ्चको भनाइ छ । यदी नियमविपरीत कार्य भए कानूनी कारबाहीमा जाने पनि मञ्चले स्पष्ट पारेको छ ।










प्रतिक्रिया