१६ असार २०८३, मंगलबार

इयु-अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले बुधबार अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोनमार्फत संवाद गर्ने कार्यक्रम तय भएको युरोपेली आयोगले जानकारी दिएको छ ।

पछिल्लो समय युरोपेली संघ र अमेरिकाबीच व्यापार सम्बन्धमा देखिएको असमझदारी समाधान गर्ने उद्देश्यले हुने यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अगस्ट १० भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली संघका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको संकेत गरेका छन् । यस्तो अवस्थामा युरोपेली संघले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी गरिरहेको छ ।

युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले भने,“हाम्रो प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नु हो । त्यसैअनुसार अहिले प्राविधिक र राजनीतिक दुवै तहमा निरन्तर संवाद भैरहेको छ ।” बुधबार हुने टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामहरूको बारेमा जानकारी दिने योजना बनाएको छ ।

हालसम्म युरोपेली संघले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ। पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् । दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल ९इस्पात० र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रियास्वरूप बनाइएको हो, जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् । अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ, जुन आवश्यक परे अगस्ट ७ देखि लागू गर्न सकिनेछ ।

वार्तालाई प्राथमिकता दिइए तापनि युरोपेली आयोगले सम्भावित सबै विकल्पहरूको तयारी गर्दै आएको छ । सम्झौता नभएमा केही सेवा क्षेत्रमा पनि सशर्त प्रतिबन्ध लगाउने प्रस्ताव तयारी अवस्थामा राखिएको छ, जसमा प्रविधि तथा वित्तीय सेवा क्षेत्रमा सक्रिय अमेरिकी कम्पनीहरू पनि पर्न सक्ने संभावना रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

सदस्य राष्ट्रहरूले वार्तालाई सकारात्मक रूपमा अघि बढाउन आयोगलाई समर्थन जनाइरहेका छन् । तर प्रमुख राष्ट्रहरू जस्तै फ्रान्स र जर्मनीले पछिल्लो समयमा आवश्यकता परेमा युरोपेली संघले उपयुक्त र दृढ प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन् ।

युरोपेली आयोगले अहिले पनि वार्तामार्फत पारस्परिक समाधानको बाटो खोलिने आशा राखेको छ । बुधबार हुने संवादले आगामी दिनमा युरोप–अमेरिका व्यापारिक सम्बन्ध कतातर्फ मोडिनेछ भन्ने कुराको संकेत दिने विश्वास गरिएको छ । सबै पक्षहरू संयम, सम्मान र समझदारीका साथ समाधान खोज्ने प्रयत्नमा लागिरहेका छन् ।