११ श्रावण २०८३, सोमबार

एनआरएनए अष्ट्रेलिया : चुनावी अभियान तीव्र बनाउँदै भैरवप्रसाद ढकाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको अध्यक्ष पदका उम्मेदवार रहेका भैरवप्रसाद ढकालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

ढकाल आफ्नो पक्षमा माहोल बनाउनका लागि अष्ट्रेलियाका विभिन्न शहर दौडाहमा निस्किएका छन् । ढकाल आइतबार आफ्ना मतदाताका प्रतिक्रिया लिन र आफ्नो प्रतिवद्धता सुनाउनका लागि ब्रिसबेन पुगे ।

बिस्रबेन पुगेका ढकालले आफू अत्यन्त उत्साहित भएको र समुदायका नेताहरूको हार्दिक स्वागतले आफू प्रभावित भएको बताए । आगामी निर्वाचनका सन्दर्भमा स्थानीय समुदायका नेताहरू तथा एनआरएनए सदस्यहरूसँग भेटघाट गरी आफ्ना विचार, एजेण्डा तथा प्रतिवद्धता साट्दै उनीहरूको प्रतिक्रिया लिन पाउने अवसरप्रति आफू उत्साहित रहेको ढकालको भनाइ छ ।

ढकाल सिड्नी, क्यानवेरा, मेलबर्न, डार्विनलगायतका शहरमा एनआरएनए अग्रज तथा सदस्यहरूसँग भेटघाट गरी आफ्ना विचार, एजेण्डा तथा प्रतिवद्धता साट्न पुग्ने कार्यक्रम रहेको छ ।

आगामी निर्वाचनका सन्दर्भमा ढकालले अष्ट्रेलियावासी समक्ष भनेका छन्, “यो केवल निर्वाचन मात्र होइन, एनआरएनए अष्ट्रेलियाको लागि एक निर्णायक मोड हो ।” उनले एनआरएन प्रतिको विश्वास पुनःस्थापना, एकताको पुनर्निर्माण र संगठनको मिसनलाई पुनः केन्द्रित गर्ने अठोट व्यक्त गरेका छन् ।

आफू प्रमाणित सामाजिक कार्यकर्ता भएको बताउँदै ढकालले एनआरएनएमा आफ्नो योगदान र अनुभवलाई स्मरण गराएका छन् । ढकाले आफ्ना प्रतिवद्धतामा समुदायको सक्रिय सहभागिता र समावेशी बहसको प्रवर्द्धन, विश्वव्यापी प्रभाव निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य, शिक्षा, सीप, रोजगारी र आप्रवासनसम्बन्धी विषयमा कार्यक्रम सञ्चालन गर्ने जस्ता उल्लेख गरेका छन् । एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हालेका ढकालले अष्ट्रेलिया तथा विश्वभरका नेपाली डायस्पोरामा लामो अनुभव बटुलेका छन् । उनले भनेका छन्, “विश्वसनीय, जवाफदेही र जनमुखी नेतृत्वका लागि मलाई भोट गर्नुहोस् । विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवा र स्वदेश तथा विदेशका नेपालीहरूको हितमा काम गर्ने एनआरएनएको लागि म प्रतिवद्ध छु ।”

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)मा हाल उनी सल्लाहकारको भूमिकामा छन् ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष, सल्लाहकार, ग्लोबल च्यारिटी टास्कफोर्स तथा वैदेशिक रोजगार समितिमा सहअध्यक्षका रूपमा समेत ढकालले योगदान पुर्‍याएका छन् । समुदाय र नागरिक नेतृत्वमा समेत ढकालको सक्रियता उल्लेखनीय रहेको छ ।

पश्चिम् अष्ट्रेलियाको पर्थमा लामो समयदेखि बसोबास गर्दै आएका ढकाल सफल व्यवसायीका साथै यहाँ सामाजिक कार्यमा सक्रिय छन् ।

एनआरएनए अस्ट्रेलियाको चुनाव यही जुलाई २६ मा हुँदैछ ।