
काठमाडौं, ३ साउन । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।
कर्णाली एसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली एसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।
त्यस्तै, हमालले कर्णाली एसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे । हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने– भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् ।
हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
कर्णाली एसभिएसले बिहीबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।








प्रतिक्रिया