२३ जेष्ठ २०८३, शनिबार

‘शिव सर्किट परियोजना’ अगाडि बढाउँदै बागमती सरकार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के

मकवानपुर, १ साउन । बागमती प्रदेश सरकारले पौराणिक धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्देश्यका साथ ‘शिव सर्किट परियोजना’ अगाडि बढाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो परियोजनाको अवधारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले शिव सर्किट परियोजनासम्बन्धी अवधारणा प्रस्तुत गरे । उनका अनुसार परियोजना नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुनेछ । परियोजनाको मूल आधार प्राचीन वैदिक, हिन्दू र बौद्ध वाङ्मयमा उल्लेखित ‘हिमवत्खण्ड’मा वर्णन गरिएका ६४ शिवलिङ्ग तथा तीर्थस्थलहरु हुने र जसले बागमती प्रदेशका अधिकांश जिल्ला समेट्ने मन्त्री मास्केले बताए ।

‘हिमवत्खण्ड’ स्कन्दपुराणअन्तर्गतको एक खण्ड हो, जसमा वर्तमान बागमती प्रदेशका सिन्धुली, दोलखा, रसुवा, धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौं जिल्लाभित्र रहेका ६४ शिवलिङ्गहरुको वर्णन गरिएको छ । ६४ शिवलिङ्गमध्ये तीनवटा मकवानपुरमा रहेको बताइन्छ । सिन्धुलीको कुशेश्वर क्षेत्रबाट सुरु भई पशुपतिनाथमा टुङ्गिने यो प्राचीन पदमार्गमा शिवलिङ्ग मात्र नभई, तपोभूमि, पवित्र नदी तथा तीर्थस्थल पनि समेटिएका छन् । १५औँ शताब्दीदेखिका हस्तलिखित ग्रन्थहरुमा यी स्थानको पठन–पूजन परम्पराले यसको ऐतिहासिक महत्वलाई अझ स्पष्ट बनाएको छ ।

मन्त्री मास्केले परियोजनाले केवल धार्मिक महत्त्व मात्र नभई प्रदेशको सामाजिक–आर्थिक विकासमा समेत टेवा पुर्‍याउने बताए । “धार्मिक पदयात्रा परम्परालाई पुनर्जीवन दिँदै यो परियोजना पर्यावरणमैत्री र जनमैत्री बन्नेछ”, उनले भने, “परियोजना बहुयातायात विकल्पमा आधारित हुनेछ । पदयात्रा, साइकलमार्ग, मोटरयात्रा, केबुलकारलगायत माध्यममार्फत विभिन्न वर्ग र उमेरका तीर्थयात्री तथा पर्यटकलाई सहज बनाउने सोच राखिएको छ ।”

शिव सर्किट परियोजना स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम उपयोगसहित स्थानीय समुदायलाई सहभागी गराएर कार्यान्वयन गरिने मन्त्रालयको तयारी छ । यसबाट रोजगारी सिर्जना, उत्पादन र बजार विकास, सीप हस्तान्तरणलगायत क्षेत्रमा योगदान हुने मन्त्रालयको विश्वास छ । प्रदेश सरकारले यो परियोजनालाई आगामी वर्षदेखि लागू गर्ने योजना बनाएको छ ।

“आजको सामाजिक अवस्थाले मानिसलाई धर्म र संस्कृतिबाट टाढा बनाउँदै लगेको छ, त्यसैले यो परियोजनाले पुनः मूल मान्यतासँग जोड्न मद्दत पुर्‍याउनेछ,” मन्त्री मास्केले भने,“शिव सर्किटलाई व्यवस्थित गर्न सकेको खण्डमा भारतीय धार्मिक पर्यटकका लागि पनि आकर्षित गर्न सकिने अवस्था छ ।”