
–अन्जनी कुमार अधिकारी
उदयपुर, ३२ असार । उदयपुरमा चौदण्डीगढी कोरा–२०२५ हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा रहेको चौदण्डीगढी साइकल सिटीको आयोजनामा पालिकास्तरमा पहिलोपटक कोरा साइक्लिङ च्यालेन्ज हुने भएको हो ।
चौदण्डीगढी साइकल सिटीले ‘माई कोरा च्यालेन्ज’अन्तर्गत चौदण्डीगढी कोराको आयोजना गरेको हो । चौदण्डीगढी कोरा यही जुलाई १९ तारिक अर्थात साउन ३ गते हुने चौदण्डीगढी साइकल सिटीका सचिव सुमन थापाले जानकारी दिएका छन् ।

चौदण्डीगढी कोरा २०२५ अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टार बजारको पुष्पलाल चौकबाट यात्रा सुरु हुनेछ । यात्राले नगरको बेल्टार–धप्पड–माडिबास–गँगटे हुँदै वेलका नगरपालिकाको सुपाडे, पुनः चौदण्डीगढी नगरपालिको शनिबारे, फेरि वेलका नगरपालिकाको आम्बासी, मधेश प्रदेशको सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुर हुँदै पुनः चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अँजगरा, हडिया, ज्यामिरे भएर बेल्टार बजारको बसपार्क सम्मको ५०.५ किलोमिटरको यात्रा तय गर्नेछ ।
यात्राको क्रममा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने तथा साइक्लिङ यात्रीहरूबाट स्वेच्छिक रुपमा आर्थिक संकलन गरी सामाजिक कार्यमा समेत सहयोग गरिने बताइएको छ ।
चौदण्डीगढी कोरामा स्थानीय सामाजिक अगुवा तथा बुद्धिजीवीहरूको सहभागिता रहनेछ भने यात्राको क्रममा मुख्य चौकहरूमा साइक्लिङको मनोरञ्जनात्मक कला प्रदर्शन, साइक्लिङ गतिविधिहरुको सामाजिक सञ्जाल प्रयोग गरी प्रचारपसार गरिने समेत आयोजकले जनाएको छ ।
चौदण्डीगढी साइकल सिटीले साइक्लिङलाई खेलको रुपमा विकास गर्ने, साइक्लिङ संस्कृतिको प्रवर्द्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज आयोजना गरिएको जनाएको छ ।
पछिल्लो समय चौदण्डीगढी नगरपालिकामा मात्र नभएर जिल्लाका विभिन्न पालिकाहरुमा युवाहरूको साइक्लिङप्रति आकर्षण बढ्दै गएको छ भने उनीहरु समूह बनाएर सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका छन् ।
साइक्लिङले स्वस्थ्य जीवनशैली अपनाउन, युवाहरूलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेदार बनाउन भूमिका खेल्ने समेत आयोजकले विश्वास लिएको छ ।
उदयपुरमा यसअघि राइड टु कोशी टप्पु, राइड टु चौदण्डी जस्ता साइक्लिङ च्यालेन्ज प्रतियोगिता सफल रुपमा सम्पन्न गरिसकिएको छ ।









प्रतिक्रिया