३१ जेष्ठ २०८३, आइतबार

मधेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय भएको छैन : एमाले मधेश

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २८ असार । नेकपा (एमाले)का मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

शनिबार बर्दिबासमा बसेको बैठकमा यसबारे केही प्रसंग नै नउठेको र एमालेबारे मिडियाले गलत सञ्चार गरेको अध्यक्ष मण्डलले बताए ।

‘मन्त्रीहरु फिर्ता गर्ने कुनै कुरा भएको छैन,’ अध्यक्ष मण्डलले भने, ‘अझ कुनै एउटा मन्त्री फिर्ता गर्ने भन्ने विषय त सरासर झुट हो । किन मिडिया एमालेबारे भ्रम फैलाइरहेका छन् ?’ उनले मधेशमा एमाले लोकप्रिय र मधेश सरकारमा एमाले ठूलो दल भएको केही मिडियालाई मन नपरेको बताए ।

‘सबै मन्त्रीहरुको समय पुगेकाले सबैलाई फिर्ता गर्ने कि भन्ने विषय उठेको हो,’ एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले भने, ‘मन्त्रीहरुको व्यवहार अलि रुखो भयो, अब समय पनि भयो, त्यही भएर सबैलाई फिर्ता गर्ने कि भन्ने विषय र पर्फमेन्सबारे पार्टीमा कुरा उठेको हो, फेरिए सबै फेरिन्छन्, त्यसमाथि पार्टीले भनेर मात्रै मन्त्री फिर्ता पनि हुने होइन ।’ उनले कुनै एउटा मन्त्री हटाउने भन्ने विषय पार्टीको प्रदेश कमिटीको एजेन्डा नबन्ने बताए ।

एमाले मधेश प्रदेश कमिटीको शनिबार बर्दिबासमा सम्पन्न बैठकले खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको भनेर केही मिडियाले गलत सञ्चार गरेको दुवै शीर्ष नेताले बताए ।

एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्यमा मन्त्री प्रमोद जयसवालको नामै तोकेर पार्टीका मन्त्रीहरुलाई जनता र पार्टीसँग सम्बन्ध सुमधुर राख्न र जनतासँग नरम व्यवहार गर्न आलोचनात्मक टिप्पणी गरेका थिए ।

बैठकमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश इन्चार्ज एवम् सांसद लिलानाथ श्रेष्ठ, सांसदहरू ज्वाला साह, जुली महतो, प्रभु हजारा, आठवटै जिल्लाका इन्चार्जको उपस्थिति थियो ।