
काठमाडौं, २८ असार । डलर साटिदिन्छु भनी ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णुकुमार रुम्बा रहेका छन् ।
प्रहरीका अनुसार पीडितलाई छ हजार अमेरिकी डलरका लागि सात लाख नेपाली रकम दिनु भनी असार २२ गते भक्तपुरको चागुँनारायण नगरपालिका–४ हलछापस्थित जङ्गलमा लगी नक्कली पेस्तोल देखाई पीडितबाट मोबाइल र नगद सात लाख रुपैयाँ लिएर उनीहरू फरार भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले बिहीबार चारै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।
पक्राउ परेकाहरूका साथबाट बा७६प ५९३१ नंको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं को मोटरसाइकल, नगद रु ६४ हजार ४०, चेक एक थान र मोबाइल १० थान बरामद गरिएको छ ।









प्रतिक्रिया