
बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले भने, ‘यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौँ ।’
उनले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।
‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ’ मुख्यमन्त्री आचार्यले भने, ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस अवसरमा प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवाल लगायतले पनि सम्बोधन गरेका थिए ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीले गरेका थिए ।









प्रतिक्रिया