२५ असार २०८३, बिहिबार

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । आज संघीय संसदअन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, आज दिउँसो १ बजेदेखि हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजेदेखि बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, आज दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औं वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्दार र पुनर्स्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी, दिउँसो १ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको छ ।