११ असार २०८३, बिहिबार

सिटिजन्स सदाबहार योजनाको इकाई बिक्री खुला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम पचास करोड रुपैयाँको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भएको छ । असार १३ गतेदेखि असार २७ गते बैंकिङ्ग समयसम्म इकाई बिक्रीका लागि खुला रहेको छ ।

यस सिटिजन्स सदाबहार योजनाको प्राथमिक निष्काशन मार्फत इकाई खरिद गर्नका लागि इकाइधनीहरुले असार २७ गते (शुक्रबार) साँझ ५ बजेसम्म मात्र आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।

योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो सेयर खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई (अर्थात प्रति इकाई १० रुपैयाँको दरले न्यूनतम रकम एक हजार रुपैयाँ र अधिकतम रकम पाँच करोड रुपैयाँसम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहलगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।