
काठमाडौं, २३ असार । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आजै बसको बैंकको सञ्चालक समितिको ३८१ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो । यस अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो ।
गत वर्षको १० पुसमा सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८० औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयवाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्ष कार्कीले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका छन् ।
त्यसैगरी, निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।
३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका उनको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जनाएको छ ।
अध्यक्ष कार्कीको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।








प्रतिक्रिया