
–अन्जनी कुमार अधिकारी
उदयपुर, २३ असार । उदयपुरको आठ पालिकामध्ये सात पालिकामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बुका अनुसार जिल्लाको आठ पालिकामध्ये उदयपुरगढी गाउँपालिकामा अहिलेसम्म लम्पी स्किन रोगको सङ्क्रमण देखा परेको छैन । अन्य सात पालिकामा भने लम्पी स्किन रोगको सङ्क्रमण पुशमा फेला परेको छ ।
लिम्बुका अनुसार हालसम्म उदयपुरमा २ सय ४४ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण त्रियुगा नगरपालिकामा ७८, कटारी नगरपालिकामा ७४, ताप्ली गाउँपालिकामा २८, रौतामाई गाउँपालिकामा २७, लिम्चुङबुङ गाउँपालिकामा २१, चौदण्डीगढी नगरपालिकामा ११ र बेलका नगरपालिकामा ५ पशुमा देखिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका सहायक पाँचौँ मीनप्रसाद सुवेदीका अनुसार यसअघि जिल्लामा १५ हजार ४ सय ३ वटा पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको थियो । उनका अनुसार खोप लगाइएको पशुमा अहिलेसम्म रोग फैलिएको छैन ।
उदयपुरमा ८६ हजार ९ सय ६४ गाई, ३९ हजार ४ सय तीन भैंसी, ८०८ भेडा, ३ लाख ४६ हजार ८२९ बाख्रा, ८७ हजार ७ सय १० बंगुर, ७ लाख ६५ हजार ७५० कुखुरा र १६ हजार ५१० हाँस रहेको तथ्यांक भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटसँग रहेको छ ।
लम्पी स्किन रोग विशेष गरी गाई, गुरु, राँगा, भैंसी, पाडापाडी, बाच्छाबाच्छीमा लाग्ने बताइएको छ । यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु बढी प्रभावित हुने गरेको विज्ञको भनाइ छ । हालसम्म यो रोग भेडाबाख्रामा लागेको तथ्यांक छैन ।
लम्पी स्किन रोग लामखुट्टे, वा रगत चुस्ने झिँगा (डास), किर्ना, भुसुना र बिभिन्न किराहरुबाट सर्ने गर्छ भने सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशु, लसपस भएको दानापानी, सोतरहरुबाट समेत सर्ने गरेको पशु विशेष डाक्टरहरुको भनाई छ ।
उदयपुरमा सङ्क्रमण फैलिन नदिनको लागि पशुपालक कृषकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।








प्रतिक्रिया