
–नवराज महतारा र कालिबहादुर थापा
सिमकोट, २२ असार । गएको स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा हुम्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक आज खार्पुनाथको चुवाखोलामा निर्माण सम्पन्न खार्पु बेलिब्रिजको उद्घाटन गर्न आउँदै छन् ।
२०७९ साल वैशाख ४ गते हुम्ला आउँदा उनी प्रमुख प्रतिपक्ष दलको नेता थिए । स्थानीय निर्वाचनमा मतदाता आकर्षित गर्न बाचा गर्दै जिल्ला सदरमुकाम सिमकोट र अदानचुली गाउँपालिकाको आमसभालाई सम्बोधन गरेर कालीकोट लागेका प्रधानमन्त्री ओली यो पटक फरक तरिकाले हुम्ला आउँदै छन् । निर्वाचन अघि भोट बटुल्न बाचा गर्दै हिँडेका ओली यो पटक बाचा पूरा भएको खुशीसँगै आशा छर्न आउँदै छन् ।
सदरमुकाम सिमकोट सडक सञ्जाल जोडिएको भएपनि कर्णाली कोरिडोरअन्तर्गत खार्पुको दोजाम कर्णाली नदीमा पक्की पुल नबन्दा नेपालगञ्ज सुर्खेतबाट आएका सवारी साधनलाई खोलाको पानी तर्नुपर्ने थियो । पानी तरेर हिउँदमा सिमकोट पुगेपनि वर्षायामसँगै यांचुतर्फै रोकिनु तलबाट गएका सवारी साधनको बाध्यता थियो । जसलाई मध्येनजर गर्दै खार्पुमा पुल निर्माणका लागि सरकारले बजेट विनियोजन गर्यो । बजेट अनुसार पुल निर्माणका लागि २०७८ साल भदौ महिनामा स्वच्छन्द मन्टपुमोरी जेबी निर्माण कम्पनीले पुल निर्माणका लागि आयोजनासँग सम्झौता भयो ।
सम्झौता भएको लामो समय बित्दा पनि खार्पुमा पुल निर्माणको काम अघि बढेन । पुल निर्माण कामको सम्झौता भएको डेढ वर्ष समय बित्दा समेत खासै काम अघि नबढेपछि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्य टाढिँदै गयो । कहिले निर्माण सामाग्री ढुवानीमा समस्या भएको त कहिले पुल निर्माण स्थलमा तातोपानी निस्केको भन्दै निर्माण कम्पनी पक्षले निर्माणको काममा बिलम्ब भयो । पुल निर्माणमा आवश्यक सामाग्री सलिसल्लाबाट खच्चडमा खार्पुसम्म ढुवानी सुरु भयो तर पनि खार्पुको पुल निर्माणको कामले गति पाएन । जुनबेला सर्केगाड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लासम्म पुल नबनेका कारण गाडीमा ढुवानी भएर आउँथ्यो भने त्यहाँबाट खार्पुनाथसम्म खच्चडको माध्ययमबाट ढुवानी गर्नुपथ्र्यो । त्यसले सामान ढुवानीमा महंगो पर्ने भएपछि डराएको ठेकदार कम्पनीले अनेक बहाना बनाउँदै काममा बिलम्ब गरेको थियो ।
सलिसल्लामा बेलिब्रिजले कर्णालीका दुई किनारलाई जोड्यो । सामाग्री गाडीबाटै ढुवानी सहज भयो तर पनि पुल निर्माणको कामले गति लिन सकेन । निर्माण कम्पनीले दश करोड लागतमा गरेको सम्झौताको म्याद पटक–पटक थपियो तर पनि पुल निर्माणले गति लिएन । ५२ मिटर लम्बाई र सात मिटर चौडाइको खार्पु मोटररेबल पुलको निर्माणको कामले तिब्रता लिनु पर्नेमा पिलरको जग खन्ने क्रममा तातोपानी निस्किएको अर्को कारणले ढिला भएको बहाना सार्वजनिक भयो । यसले पुलको भरमा पर्दा सरकारको लक्ष्य मात्र होइन जिल्लालाई समेत सिधा गाडी चढेर सुर्खेत, नेपालगञ्ज काठमाडौं आवतजावत गर्ने र सामाग्री सिधा ढुवानी गर्ने काममा समस्या हुने सामुहिक निचोडमा जिल्ला पुग्यो ।
जिल्लाबाट प्रतिनिधत्व गर्ने जनप्रतिनिधि, राजनीति दल, स्थानीय प्रशासनको दवावमा पुल निर्माण कम्पनी स्वच्छन्द माउण्ट मेमेरी जेभीले पहिले पानी तान्नका लागि दुई वटा मेसिन जडान गरेको प्रतिक्रिया दियो । दुवै मेसिन जलेपछि पुनः अर्को मेसिन जडान गरेर काम सुरु गरेको सन्देश निर्माण कम्पनीले फैलायो । तरपनि पुल निर्माणले गति लिएन । दश करोड ४८ लाख रुपैयाँ लाग्ने गरी आयोजनाले सम्झौता गरेको छ निर्माण कार्य अहिले पनि निरन्तर भैरहेको छ । सकिएको म्याद थपिने क्रम रोकिएको पनि छैन् पुल निर्माणको कामले गति पनि खासै लिएको छैन् । अन्ततः हुम्ली जनता आतिए देशका ७६ जिल्ला सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जालले छोएपनि हुम्लाको सदरमुकाम सिमकोटमा पुग्न नसकेपनि जिल्लाका राजनितिक दलहरु एकमत भई बेलिब्रिज निर्माण गरेर भएपनि राष्ट्रिय सडक सञ्जालसँग जोड्नु पर्छ भन्ने निचोडमा पुगे ।
यसरी सुरु भयो बेलिब्रिज निर्माणको माग
जति दबाब र हौसला दिँदा पनि खार्पुको मोटरेबल पुल निर्माणको कामले गति नलिएपछि हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना पूरा नहुने भएपनि दलहरुले धेरै विकल्पको खोजी गरे । ठेकदार कम्पनीलाई अनेक ढंगले दबाब दिने, प्रोत्साहित गर्ने बाटो खोजे तर सफल भएनन् । पुल निर्माणको विकल्प सफल नभएपछि बेलिब्रिज निर्माणबाट हुम्ला सदरमुकाम जोड्ने विकल्पमा आफू पुगेको पूर्वसांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताए ।
‘पुल निर्माणको कामले गति नलिएपछि २०८० चैत ७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्थगत भ्रमणका लागि हुम्ला पुगेको बेला जिल्लाको तर्फबाट ३ बुँदे ज्ञापनपत्र बुझाउने काम भयो’, एमाले कर्णाली प्रदेश इन्चार्ज समेत रहेका बोगटीले भने, ‘जिल्लाको तर्फबाट पूर्वाधार मन्त्रीलाई पहिलो मागका रुपमा खार्पुमा बेलिब्रिज निर्माण गर्ने, बोक्चगौडा, भिगौडाको सडक स्तरोन्नतीको काम अघि बढाउने र उक्त काम नेपाली सेनालाई दिने व्यवस्थाका लागि अनुरोध मात्र गरिएन, पटक–पटक सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने काम जिल्लाको तर्फबाट भयो ।’
जिल्लाका नेताहरु, जनप्रतिनिधि नागरिक समाजले आ–आफ्नो तर्फबाट गरेको माग अनुसार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलिब्रिज एकमात्र उपाय भन्दै सरकारले प्रक्रिया अघि बढिरहेकै थियो । त्यसै समय १ र २ कात्तिक २०८१ मा नेकपा (एमाले) हुम्लाले २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो । जसका लागि एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञावली हुम्ला पुगे । हुम्लाको प्रशिक्षण, लिमीलाप्चा, हिल्सा हुदैं खार्पुको स्थलगत भ्रमण गरेका एमाले नेता ज्ञावलीलाई पनि जिल्लाका सबै दलहरुले एकै स्वरमा भने, ‘हामीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न पहल गरी दिनुपर्यो ।’
जिल्लाका सबै दलहरुको तर्फबाट एक माग एकै स्वरमा आएपछि एमाले नेता ज्ञावलीलाई अनौठो लाग्यो । ‘वास्तवमा काठमाडौंले दिनेभन्दा जिल्लाले माग्ने विकासमा कति मर्म लुकेको हुन्छ भन्ने कुरा हुम्लाका सबै दलका साथीहरुको भनाइबाट म प्रष्ट भएँ’ नेता ज्ञावलीले भने, ‘मौखिक रुपमा भनेको एकैछिन जिल्लामा भएका सबै दलका नेताहरु आएर मलाई ज्ञापनपत्र नै बुझाउँदा थप अचम्ममा परेँ ।’
सरकारमा मन्त्री आएको बेला ज्ञापनपत्र दिने प्रचलन त अन्यत्र पनि थियो र छ तर हुम्लाका साथीहरुले सरकारमा नभएको मलाई पनि विश्वास गरेको देख्दा अझ जिम्मेवारीबोध गराएको बताएका नेता ज्ञावलीको कानमा अझ पनि हुम्लाका नेताहरुको आवज गुञ्जिरहन्छ, ‘उपमहासचिवज्यू हाम्रो पहुँच पुगेन हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न खार्पुमा बेलिब्रीज नभई संभव छैन् त्यसको लागि सरकारले हाम्रो कुरा सुनेन । हजुरले सुनाइ दिनुपर्यो ।’
जिल्लाका सबै दलहरुको विश्वास लिएर ज्ञावली हुम्लाबाट बाहिरिएकै दिन स्थलगत अनुगमन भ्रमणका लागि १२ कात्तिक २०८१ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुगे । सिमकोट ओर्लेकै दिन जिल्लाका कर्मचारी र दलका नेतासँगको समन्वयात्मक बैठक राखेका मुख्यमन्त्री समक्ष पनि हुम्लाका सबै दलहरुको माग एकै थियो, ‘सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडन् खार्पुमा बेलिब्रिज निर्माण ।’

बैठकमा जिल्लाकै तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा सिमकोटलाई सडक सञ्जालमा जोड् बेलिब्रिज अन्तिम विकल्प भन्दै फेरि ६ बुँदे सामुहिक ज्ञापनपत्र प्रदेश सरकारलाई बुझाए । दलहरुको सामुहिक मागमा सहमत जनाएका मुख्यमन्त्री कँडेल आफै जिल्लाको लिमिलाप्चा, हिल्सा हुँदै खार्पु पुगे ।
जिल्लाका ६ बुँदे ज्ञापनपत्र र सरकार समक्ष एक स्वरमा माग गरेको बेलिब्रिजको प्रस्ताव ल्याएर काठमाडौं फर्केका पुर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव ज्ञावलीले कात्तिक १३ गते भेटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समय तय भयो । ‘अन्य समयमा भेट्दा मैले कुनै सञ्चारकर्मीलाई खबर गर्दिन थिएँ तर कात्तिक १३ गते भने आफैले सञ्चारकर्मी साथीहरुलाई फोन बोलाएँ’ नेता ज्ञावलीले भने, ‘सन्दर्भ पनि राम्रो भयो । मैले भेट्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेल पनि प्रधानमन्त्री कार्यालयमै हुनुहुँदो रहेछ । मलाई पनि कस्तो सजिलो भयो भने विभागीय मन्त्रीकै अघि हुम्लाको सामुहिक माग प्रधानमन्त्री ज्यूलाई दिने सुनौलो मौका पाएँ मैले ।’

जिल्लाका दलहरुको गाम्भीर्यतालाई जस्ताको तस्तै प्रस्तुत गरेका ज्ञावलीको प्रस्ताव लगत्तै प्रधानमन्त्री ओलीले मुख्यसचिव, पुर्वाधार सचिवलाई बोलाएर मन्त्रिपरिषद बैठकमा प्रस्तावका रुपमा लिन निर्देशन दिएका उल्लेख गरेका नेता ज्ञावलीले प्रसन्न हुँदै भने, ‘वास्तवमा मोटरेबल पुल निर्माणको काम आफ्नै गतिमा त हुन्थ्यो प्रधानमन्त्रीज्यूले मेरो अनुरोधलाई सकरात्मक नलिएको भए सिमकोट बेलिब्रिजमार्फत राष्ट्रिय सडक सञ्जालमा जोडिने तत्कालै सम्भावना प्रायः थिएन ।’
लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न खार्पुमा बेलिब्रिज निर्माण गर्ने, यो पुल र कर्णाली कोरिडोरको बोक्चे गौडा, भिडगौडाको ग्रेड निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेपछि औपचारिक रुपमा बेलिब्रिजको काम सुरु भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहलले बताए ।
लगत्तै हुम्ला पुगेर फर्किएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेल पनि सुर्खेत पुगेको पछिल्लो दिनमै काठमाडौं लागे । हुम्लाका राजनीतिक दलहरुको एक सुत्रिय मागलाई प्रधानमन्त्री ओलीसँगको भेटमा थप प्रष्ट पार्ने काम गरे । त्यसले पनि सरकारलाई कार्यान्वयनमा बल मात्र पुगेन प्रदेश सरकारको समेत साथ प्राप्त भएको भनाई राखेका मन्त्री दाहलले भने, ‘सरकारको निर्णय लगत्तै कात्तिक २० गते हाम्रो मन्त्रालय (भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय)ले टिप्पोणी आदेश उठाई पुलको अभावमा राष्ट्रिय राजमार्गको पहुँच बाहिर रहेको सिमकोट जोडने साढे ४८ मिटर लामो बेलिब्रिजको सम्पूर्ण सामाग्री भौतिक मन्त्रालयले उपलब्ध गराउने र ढुवानी तथा जडानलाई द्रूतगतिमा सम्पन्न गर्न रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई जिम्मा दिने निर्णय गर्ने काम भएपछि यसले औपचारिक कार्यान्वयनको बाटो खुलेको हो ।’
२०८१ मंसिर १२ गते खार्पुमा बेलिब्रिज निर्माणको काम अगाडि बढाउन र त्यसको अनुगमन गर्नको लागि संघीय सरकारका भौतिक पुर्वाधारमन्त्री देवेन्द्र दाहालसहित रक्षामन्त्री मानविर राई, भौतिक पुर्वाधारका सचिव केशव शर्मा, रक्षा सचिव रामेश्वर दंगाल, प्रधानसेनापति असोकराज सिग्देल, नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निमित्त निर्देशक धर्मेन्द्र कुमार झा लगायतको टोली आएर निर्माण कार्य सुरु भएको हो ।
हुम्ला पुगेका मन्त्री दाहालले अनुगमन टोली र स्थानीयसँग कुरा गर्दै अबको तीन महिनामा खार्पुमा बेलिब्रिज निर्माण गरेर हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका थिए । तर तीन महिनामा पूरा गर्न नसकिए पनि त्यसको ६ महिनामा बेलिब्रिज निर्माण पूरा भएर आज असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्दै छन् ।
खार्पु बेलिब्रीज जोड्न १० ठाउँका प्राविधिक सेना परिचालित
सरकारको निर्णय अनुसार कर्णाली कोरिडोरअन्तर्गत खार्पुमा बेलिब्रिज जोड्ने कामको जिम्मा पाएको नेपाली सेनाले एक पुल जोड्न देशका विभिन्न १२ स्थानबाट नेपाली सेनाका प्राविधिक परिचालित भएका छन् । सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेको कर्णाली कोरिडोर अन्तरगत जडान गर्न श्री नम्बर १४ बाहिनी अड्डा काठमाडौं, श्री ब्रिजिङ्ग युनिट काठमाडौं, कालिबक्स गण काठमाडौ, कालिफन्दन गण दमौली तनहुँ, श्री कालिप्रसनद गण भैसे मकवानपुर, श्री कालिशक्ति गण मोरङ, श्री कालि सिद्धी गण बर्दिवास, श्री कालिरक्षा गण कैलाली, श्री कालिभक्ति गण भैरहवा, श्री कालिदल गण सुर्खेत विमानस्थलका इन्जीनियर (प्राविधिक) सेना हुम्लाको खार्पुमा परिचालित भएको खार्पुमा खटिएका मेजर पुरबहादुर घलेले जानकारी दिए ।
पश्चिम नेपालको उत्तर दक्षिण जोड्ने रणनीति महत्व बोकेको कर्णाली कोरिडोर अन्तरगत खार्पुको बेलिब्रिज जोड्न नेपाली सेनाको टोली २०८१ चैत १० गतेदेखि निरन्तर काममा लग्यो । निर्धारित लक्ष्य पूरा गर्न दिनरात काममा खटिएको नेपाली सेनाको टोलीले ४० दिन अर्थात गत असार १० गते नै काम सम्पन्न गरेको भएपनि प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका कारण पुल उद्घाटन २२ गते पुगेको हो ।
यस्ता छन् प्रधानमन्त्री ओली हुम्ला आउने ५ कारण
राष्ट्रिय सडक सञ्जालमा जोडिने सिमकोट नेपालका ७७ जिल्लामा अन्तिम जिल्ला सदरमुकाम हो । विकासोन्मुख देशको सूचिबाट अपग्रेटको अन्तिम तयारीमा रहेको नेपाललाई सबै जिल्लामा सडह पहुँच पुगेको सन्देश दिनकै लागि भएपनि प्रधानमन्त्री ओली नेपाल आएको २ दिनमै हिमाली जिल्ला हुम्ला आउन लागेका हुन् ।
दैलेखको जलजलेमा पेट्रोलियम पर्दाथको उत्खननका काममा सफलता प्राप्तपछि कर्णालीको हरेक कुरामा संवेदनशील रुपमा लिने प्रधानमन्त्री ओली हुम्ला आउन मुख्यत निम्न कारणहरु रहेका छन्ः
१. विगत २६ वर्षदेखि हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्यलाई द्रुतत्तर गतिमा (नीति, बजेट, कार्यक्रम र कार्यान्वयन) सफल पारेको खुशीयाली साँट्न ।
२. मानव विकास सूचांकको पुछारमा रहेको हुम्लाको समृद्धिका लागि हुम्लावासीसँग भलाकुसारी गर्दै स्थलगत आवश्यकता पहिचान गर्न ।
३. ‘समृद्ध नेपाल, सुखि नेपाली’को दीर्घकालीन लक्ष्य पूरा गर्न रणनीतिक महत्वको हिल्सा–जमुनाहा जोड्ने कर्णाली कोरिडोरको स्तरोन्नतीका लागि सम्भाव्यता अध्ययन गर्न
४. २०५१ सालको ९ महिने सरकारमा गृहमन्त्री हुँदा, २०३४ मा परराष्ट्रमन्त्री हुँदा हिल्सा नाकालाई रणनीति नाका रुपमा अघि सारेको काम पूरा गर्दै बीआरआईको महत्वपूर्ण आयोजनामा समावेश गरेको सन्देश प्रवाह गर्न ।
५. दैलेखको जलजलेमा पेट्रोलियम पदार्थको उत्खनन गरेर त्यसबाट ‘समृद्ध नेपालको महत्वपूर्ण आधार कर्णाली हो’ भन्ने प्रमाणित तत्थ्यका बीच त्यसको ‘अन्तर्राष्ट्रिय व्यापारिक मार्ग पनि कर्णाली कोरिडोर (हिल्सा–जमुनाहा) हो’ भन्ने तथ्य स्थापित गर्न ।








प्रतिक्रिया