
काठमाडौं, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेश सांसद डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रकरणमा तामाङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
राप्रपाबाट बागमती प्रदेश सांसद रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काकाससुरा हुन् ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा तामाङको कम्पनीलाई सबस्टेसन निर्माणसम्बन्धी ठेक्का दिलाइएको थियो ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गतको चिलिमेको २२० केभीएको जीआईएस सबस्टेशन र त्रिशूलीको २२० केभीएको हाइव्रिड सबस्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिले उक्त ठेक्काको सबकन्ट्रयाक्ट पाएको थियो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले सहन इन्जिनियरिङबाट लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा तामाङको प्रो–सोलुसन्सलाई दिलाएका थिए ।
चिनियाँ कम्पनीले सहनलाई गर्नुपर्ने भुक्तानी सीधै तामाङको प्रो–सोलुसन्सलाई दिइएको थियो, तर उसले सहनलाई भने रकम नदिएपछि विवाद भएको र विवाद प्रहरी हुँदै अदालतसम्म पुगेको हो । पक्राउ पुर्जी जारी हुनेहरूमा प्रो–सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।








प्रतिक्रिया