
–अन्जनी कुमार अधिकारी
उदयपुर, १७ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्थानीय पाठ्यक्रम र नगरको दशवर्षे विद्यालय शिक्षा क्षेत्रको योजना सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, चौदण्डीगढी नगरपालिका नगरप्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले “हाम्रो सान, चौदण्डीगढीको पहिचान” नामक स्थानीय पाठ्यक्रम र नगरको आगामी दशवर्षे शिक्षा योजना सार्वजनिक गरेका हुन् ।

चौदण्डीगढी आफैँमा एक ऐतिहासिक गढी हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाहरुले राज्य गरेको ऐतिहासिकता बोकेको महत्व स्थल हो । नगरपालिकाको नामकरण समेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । बुधबार नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्नेगरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो ।
पाठ्यक्रम र शिक्षा क्षेत्रको योजना सार्वजनिक गर्दै उपसभामुख दनुवारले पाठ्यक्रमले स्थानीयस्तरमा रहेका भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसले भावी सन्ततिलाई नगर भित्रका ऐतिहासिक पुरातात्विक महत्व बोकेका स्थलको पहिचान र संरक्षण एवम् सम्बर्द्धन गर्न प्रेरित गर्ने बताइन् ।
उपसभामुख दनुवारले नगरले सार्वजनिक गरेको दशवर्षे विद्यालय शिक्षा क्षेत्रको योजनाले आगामी दश वर्ष भित्र चौदण्डीगढी नगरपालिकालाई जिल्ला, प्रदेशको मात्रै नभएर देशकै शैक्षिक हवका रुपमा विकास गर्ने विश्वास लिएको बताइन् ।
पाठ्यक्रम तथा दशवर्षे विद्यालय शिशा क्षेत्रको योजना पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले आफूले चुनावका बेला जनता समक्ष नगरलाई शैक्षिक हवका रुपमा विकास गर्ने बाचा गरेको र बाचा पूरा गर्न अहिले शैक्षिक योजना निर्माण गरेर सार्वजनिक गरेको बताए । नगरप्रमुख लामाले आफू निर्वाचित भएर आएदेखि नगरको शिक्षामा आमूल परिवर्तन गर्ने हुटहुटी जागेको भन्दै सोही हुटहुटीकै कारण दशवर्षे विद्यालय शिक्षा क्षेत्रको योजना निर्माण गरिएको बताए । उनले नगरले विद्यालय शिक्षा क्षेत्रको योजना अनुसार नै स्थानीय पाठ्यक्रम लागू गरेको बताउँदै यसले नगरको पहिचान स्थापना गर्ने दाबी गरे ।
मंगलबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयतर्फ ४ जिपिए प्राप्त गर्ने लाजिमा राई, ३.९ जिपिए ल्याउने सौरभ पराजुली, ३.९५ जिपिए ल्याउने विज्ञानराज थापा र ३.९१ जिपिए ल्याउने अनुकुमारी शर्मालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा नगर भित्रका उत्कृष्ट शिक्षकहरु गंगा मगर, बलराम कार्की, कुमार खड्का, रितबहादुर मगर, पदम तामाङ्गलाई समेत नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।










प्रतिक्रिया