
काठमाडौं, १२ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन् ।
एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भएपनि उनीहरुको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने महासचिवले बताएका हुन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दैमहासचिव पोखरेलले एमालेलाई राजावादी,कम्यूनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरु र विदेशी शक्तिहरुले हमला गरिरहेको बताए ।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरु हामी माथी खनिएका हुन् ।’
एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरु एमाले विरुद्ध खनिएको उनले बताए । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने ‘त्यसैले उनीहरु एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालिबाट हामी बिचलित हुनुहुदैन । उनीहरुले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौं ।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्यूनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरु बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्यूनिष्ट नामका पार्टीहरु एमाले माथी हमला गर्न आउने गरेको उनले बताएका हुन् ।









प्रतिक्रिया