
काठमाडौं, १२ असार । हास्यकलाकार प्रभात लामालाई धम्की आएको छ ।
कमेडी नाइट्स विथ च्याम्पियन्सको एक एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका लामालाई राजावादीले धम्की दिएका हुन् । फोन गरेर राजावादीले उनलाई गाली गर्नुका साथै धम्की दएका उनको भनाइ छ ।
उनले भनेका छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा मैले पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर पछि केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईंको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस् ।’
‘कुनैपनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरिदिनुहोला । कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो’ प्रभातले लेखेका छन्, ‘राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नुहोला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।’








प्रतिक्रिया