
काठमाडौं, १० असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै सान्दर्भिक भइसकेका राजावादीहरूले एमाले माथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको बताएका हुन् । यो कुरा नयाँ पुस्तालाई बुझाउनु पर्ने र त्यो काम राष्ट्रिय युवा संघ नेपालले गर्ने सक्ने उनको धारणा छ । यसले परिवर्तनको अभियानमा युवालाई जोड्न सकिने पोखरेलले बताए ।
एमालेलाई आफूलाई कम्युनिष्ट भन्ने माओवादी, समाजवादी लगायत पनि लागेका पोखरेलले बताए । ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई मन पराउने जनताको ठुलो हिस्सा छ, त्यो हिस्सा एमालेसँग छ, त्यसैले एमालेलाई कमजोर बनाउँदा मात्र हाम्रो भविष्य बन्दछ भन्ने मान्यताका आधारमा उनीहरूले हाम्रो विरुद्ध प्रहार केन्द्रित गरिरहेका छन्’, उनले भने । एमाले र नेपाली कांग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएकाले छटपटिएका उनले बताएका छन् । भविष्य अन्धकार भएकाहरूले आफ्नो भविष्य खोजीका लागि एमाले माथि आक्रमणमा उत्रिएका उनले स्पष्ट पारे । ‘चरम अवसरवादी चरित्र बोकेका माओवादी र समाजवादी एमालेको विकल्प बन्न सक्दैनन्’, उनले भने ।
एमालेको सामना गर्न नसकेपछि अहिले माओवादी समाजवादीले एमाले माथि सामाजिक सञ्जाल मार्फत हमलाको रणनीति लिएका उहाँले बताउनुभयो । यसलाई बुझेर एमाले अघि बढ्नु पर्ने पोखरेलको धारणा छ ।
वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्व विरुद्ध केन्द्रित रहेका बताउँदै महासचिवले आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका धारणा राखे । आफ्नो लागि जे पनि गर्ने र जस्तोसुकै हरकत गर्न पनि पछि नहट्नेहरू एमालेका विरुद्ध उत्रिएका उनको भनाइ छ ।
जान्नेलाई छान्ने भन्ने पार्टीका नेता नै आपराधिक मनोवृत्तिका भएका उनले बताए । सांस्कृतिक, सामाजिक र कानुनी मूल्य र मान्यता समेत नबुझेका मानिसलाई जान्ने भनेर नेता बनाएर हिँड्नेहरूका नेता अहिले न्यायिक हिरासतमा रहेका उनले स्मरण गराएका छन् । ‘एउटा सहकारीबाट ल्याएको भए झुक्किन सकिन्छ, ६ वटा सहकारीबाट रकम ल्याएर, सहकारी डुबाएर उनी न्यायिक हिरासतमा छन्, अझै पनि युवाका सामु भन्दै छन्, हाम्रा अभियान जारी छ, जान्नेलाई छान्ने अभियान जारी छ’, उनले भने । राजनीति सिद्धान्त, संगठन प्रणाली र भविष्यको दृष्टिकोणमा आधारित हुने उनको भनाइ छ । वर्तमानमा खेलेर लोकप्रिय हुने सपना देख्नेहरूको सपना एमालेले उडाइदिएको कारण उनीहरू एमालेका विरुद्ध आक्रामक बनेका पोखरेलले बताए । ‘हामीले सही काम गरेका छौँ, त्यस अर्थमा हामी माथि प्रहार भइरहेको छ’, पोखरेलले भने ।
नेपालमा कठपुतली बनाउन खोज्ने बाह्य शक्तिले पनि एमाले र त्यसको नेतृत्व विरुद्ध आक्रमण गरिरहेका उनको धारणा छ । ‘उनीहरूलाई पीडा छ, नेपाललाई बफर जोन बनाउन नपाएकोमा’, उनले भने ।
अहिले कांग्रेस एमालेको सरकार चलिरहेको भए पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उनले बताएका छन् । तहसनहस भएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेकोले अब देश विकासले गति लिने पोखरेलले दाबी गरे ।








प्रतिक्रिया