
काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका छन् । उनले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेख्दै यो जानकारी गराएका हुन् ।
“आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ । इजरायलले १२ घण्टापछि युद्धविराम सुरु गर्नेछ । २४ औं घण्टामा, १२ दिने युद्धको आधिकारिक अन्त्यको विश्वले अभिवादन गर्नेछ ।” ट्रम्पले लेखेका छन् ।
ट्रम्पका अनुसार युद्धविरामको समयमा दुवै पक्षले शान्तिपूर्ण र सम्मानजनक व्यवहार गर्नेछ ।
उनले १२ दिने जारी युद्ध अन्त्य गर्न इरान–इजरायलले देखाएको साहसका लागि दुवै देशलाई बधाई पनि दिएका छन् ।
उनले भनेका छन्, “१२ दिने युद्ध अन्त्य गर्न शक्ति, साहस र बुद्धिमत्ता देखाएकोमा म दुवै देश इजरायल र इरानलाई बधाई दिन चाहन्छु ।”
यद्यपि, इरान र इजरायलले युद्धविरामको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।
ट्रम्पको घोषणा हुनुभन्दा केही घण्टा अघि इरानले कतारमा रहेको अमेरिकी अल उदेइद हवाई सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
सबैभन्दा पहिला १२ दिन अगाडि इजरायलले इरानको आणविक स्थलहरूमा श्रृंखलाबद्ध आक्रमणहरू गरेको थियो । त्यसपछि दुई देशहरू बीच युद्ध सुरु भएको थियो ।
इजरायललाई हालै अमेरिकाले पनि समर्थन गरेको थियो । अमेरिकी सेनाले तीन इरानी अड्डाहरूमा आक्रमण गरेपछि इरानले सोमबार राति कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर बदला लियो, जसले गर्दा तनाव बढ्ने सम्भावना बढेको थियो । तर मंगलबार बिहान ट्रम्पले इरान–इजरायल युद्धविराममा सहमत भएको घोषणा गरे ।










प्रतिक्रिया