२९ जेष्ठ २०८३, शुक्रबार

यलको सम्मानमा लेखिएको कविता संग्रह न्यूयोर्कमा विमोचित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, ९ असार । नेपाली कवि राजन महर्जनको अंग्रेजी भाषामा प्रकाशित पहिलो कविता संग्रह ‘ओड टु यल’ न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ ।

निराला पब्लिकेशन्स नयाँ दिल्लीद्वारा प्रकाशित यो संग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)—काठमाडौं उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ । यस संग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ ।

पारिवारिक वातावरणमा सम्पन्न भएको विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए ।

कार्यक्रममा कवि महर्जनले आफ्ना कवितामार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे ।

कवि युयुत्सु शर्माले नेपालबाट अंग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यलको सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे । उनले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । ‘ओड टु यल’मार्फत् उनले भने, “महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन् ।”

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे । अरू वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि थिए । साथै, नदिया लिवाङ, राम खत्री, बद्री पौडेल लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो ।

यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र फूडमाण्डुको सहयोगमा सम्पन्न भएको हो । ओड टु यल अहिले अमेजन, फ्लिपकार्ट, र दराजमा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइने बताइएको छ ।