
–अन्जनी कुमार अधिकारी
उदयपुर, ७ असार । साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान अर्थात प्याराग्लाइडिङतर्फ पछिल्लो समयका युवापुस्ताको आकर्षण बढ्न थालेको छ भने यसतर्फ आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत उत्तिकै आकर्षण हुन थालेको छ । झन्डै दुई दशक अघि पोखराको सराङकोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ ।
उदयपुरको बेलका नगरपालिका–८ बोप्ताङ्गमा प्याराग्लाइडिङको सफल उडान परीक्षणसँगै अहिले यस क्षेत्रमा ट्रेनिङ सेन्टर सञ्चालनमा रहेको छ ।
व्यवसायिक प्याराग्लाइडिङको प्रचुर सम्भावना बोकेको बेलका नगरपालिका–८ बोप्ताङ्गमा अहिले ५ जना विद्यार्थीहरुले प्रशिक्षण लिइरहेका छन । २०८० सालदेखि उदयपुरको बोप्ताङ्गमा सुरु गरिएको प्याराग्लाइडिङ प्रशिक्षणमार्फत अहिले सम्म ३ सय जनाले प्रशिक्षण लिइसकेको प्रशिक्षक सुरेन गुरुङले जानकारी दिए ।
फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुलले अहिले बोप्ताङ्गमा प्रशिक्षण लिँदै आएको छ । जहाँ नेपाली प्रशिक्षार्थीका लागि १ लाख ८० हजार र विदेशी प्रशिक्षार्थीका लागि १५ सय डलर शुल्क लिँदै आइएको छ । प्रशिक्षार्थीले रकम बापत प्याराग्लाइडिङ प्रशिक्षणसहित ६ महिनाको बीमा, प्रशिक्षण अवधिभरका लागि आवस्यक सम्पूर्ण सामाग्री, खान बस्नसहितको सम्पूर्ण व्यवस्था प्राप्त गर्ने विद्यालयले जनाएको छ ।

बोप्ताङ्गबाट नेपाल कै ठूलो नदी सप्तकोशीको मनोरम दृश्यावलोकनसँगै सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्र, चतरा धाम लगायतको मनोरम दृश्यसहित प्याराग्लाइडिङको उडान गर्न पाउने हुँदा यस क्षेत्रलाई राज्यले व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ ।
बोप्ताङ्गसँगै चौदण्डीगढी नगरपालिका–१ को ऐतिहासिक चौदण्डी दरबार र रौतामाई गाउँपालिका–८ को पर्यटकीय क्षेत्र रौतापोखरी माथिको डाँडाबाट समेत व्यवसायिक प्याराग्लाइडिङको सम्भावना रहेको छ । यी क्षेत्रमा समेत यसअघि उडान परीक्षण सकिएको छ ।
बोप्ताङ्गसहित उदयपुरका तीनै पालिकामा रहेको प्याराग्लाइडिङ क्षेत्रमा राज्यले स्लो प्याराग्लाइडिङलाई लिगल रुपमा खुल्ला गरेर वा व्यवसायिक कम्पनीहरुले कम्पनी दर्ता गरेर यस क्षेत्रमा व्यवसायिक प्याराग्लाइडिङ गर्न सकिने प्रशिक्षक गुरुङ बताउँछन् ।
राज्यले प्याराग्लाइडिङको ब्यवसायिक सम्भावना बोकेको बोप्ताङ्गसँगै चौदण्डीगढी र रौतापोखरी क्षेत्रबाट नजिक रहेका विभिन्न धार्मिक स्थलहरूलाई समेत जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने सके आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनमा महत्वपूर्ण सफलता मिल्ने अपेक्षा लिइएको छ ।















प्रतिक्रिया