१६ असार २०८३, मंगलबार

क्यानडामा आज ‘रामकृष्ण ढकाल साँझ’ लाइभ म्युजिक हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–शिशिर सिंखडा

टोरण्टो, ७ असार । ‘इन्टरनेशनल म्युजिक डे’को अवसरमा २१ जुन अर्थात आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदावहार गायक ‘रामकृष्ण ढकाल साँझ’ लाइभ म्युजिकको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ आज शनिबार हुन लागेको हो । बेलुकी ७ बजेदेखि १० बजेसम्म हुने ‘रामकृष्ण ढकाल साँझ’मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए ।

भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ । पारिवारिक समूह ‘प्रगतिशील समूह’को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि बिक्री भइसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिए ।

गायक ढकाललाई तवलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् ।

कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन् भने प्रायोजकमा एक्सपेरियर फाइनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्टकी सञ्चालक सीता राना रहेका छन् । मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डटकम रहेको छ ।

कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटिन्छन्…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…, लगायतका तथा नारायण गोपालका केही गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ ।

२०४५ सालमा १३ वर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन् । २० वटा एकल एल्वम् सार्वजनिक गरिसकेका ढकालका दर्जनौँ गीतहरु चर्चित छन् । उनले ५ हजारभन्दा बढी गीत गाएका छन् ।

प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत संगीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागि आग्रह समेत गरेको छ ।