
काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम कारोबारको स्वीकृति प्रदान गरेको छ ।
आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहनेछ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीमा रहनेछ । संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहनेछ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रुपमा चल्ने कम्पनीले जनाएको छ । जसका लागि दुवै एप, आइएमई पे र खल्ती यथावत रुपमा सञ्चालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरु त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ ।
संयुक्त कारोबार पश्चात यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने कम्पनीको विश्वास रहेको छ । डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास रहेको छ ।
खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।















प्रतिक्रिया